कास्कीका विभिन्न ठाउँमा गएको पहिरोले मोटरबाटो र पदमार्ग अवरूद्ध गर्नुका साथै केही भौतिक संरचनाा पनि क्षति पुर्याएको छ।
गएराति परेको अविरल वर्षाका कारण अन्नपूर्ण क्षेत्रमा रहेको घान्द्रुक–दोबाटो हुँदै खोप्रा पदमार्ग, हिडनलेक पदमार्ग र पुनहिलबाट अन्नपूर्ण आधार शिविर जाने पदमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केही होटल र पुलमा पनि क्षति पुर्याएको स्थानीयले बताएका छन्।
मुल्डे पदमार्गका व्यवसायी राजमान गुरूङका अनुसार गएराति वर्षासँगै गएको पहिरोले वनठाँटीमा रहेको होटल सनराइज र होटल शंकरमा क्षति पुर्याएको छ।
यस्तै, पदमार्गमा रहेको एउटा पक्की पुल पनि भत्काएको छ। उक्त पदमार्ग क्षेत्रमा गएका ३ वटा पहिरोले ठाउँठाउँमा पदमार्ग नै अवरूद्ध हुन पुगेको गुरूङले बताए।
‘पहिरोले पदमार्ग पूर्ण रूपमा बन्द भएको छ, होटल र पुल पनि भत्काएको छ,’ उनले भने, ‘अफ सिजनमा पनि चल्ने पदमार्ग भएकाले तत्काल पहिरो खुलाउन सरकारको ध्यानाकर्षण गराउँछु।’
पहिरोकै कारण पर्यटकी गाउँ ताङतिङ जाने मोटरबाटो सोमबारदेखि अवरूद्ध छ।
गएराति सोही बाटोको करुपाखामा अर्को पहिरोले बाटो अवरूद्ध गरेको ताङतिङका स्थानीयबासी समेत रहेका गण्डकी प्रदेश सांसद बेदबहादुर गुरुङ ‘श्याम’ले जानकारी दिए।
उनका अनुसार पहिरो झर्नै क्रम जारी रहेको छ भने सोमबार गएको पहिरो अझै खुलाउन सकिएको छैन।
कास्कीका सिडिओ कुमान सिंह गुरूङले ताङतिङ जाने पदमार्ग खुलाउन जलविद्युत आयोजनाको डोजर प्रयोग गरिएको बताए।
पदमार्गको पहिरो र होटलको क्षतिबारे भने अहिलेसम्म कुनै निर्णय नभएको उनले बताए।
यसबारे स्थानीय गाउँपालिकासँग समन्वय गरेर पदमार्ग खुलाउने उनले बताए।