काभ्रेपलाञ्चोक बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशी बजारमा सञ्चालित होटलहरूमा छड्के अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु भेटिएपछि ५ वटा पसललाई ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, नमोबुद्ध नगरपालिका र उद्योग वाणिज्य संघले संयुक्त रूपमा गरेको अनुगमनका क्रममा होटलहरूलाई जरिवान गरिएको हो।
अनुगमनकै क्रममा भकुण्डेबेशीस्थित रोयल मःम एण्ड नेवारी खाजा घरमा चाउमिन खाएका पाँच जना बिरामी परेको घटनापछि उक्त होटल प्रहरीले सिल गरेको थियो।
अनुगमनका क्रममा होटलहरूबाट म्याद गुज्रिएका खाद्यान्न र तयारी खानेकुरा जफत गरेर नष्ट गरिएको छ। सेवाग्राहीको अत्याधिक गुनासो आएपछि अनुममन गरिएको उद्योग वाणिज्य कार्यालयका प्रमुख रविन घिमिरेले जानकारी दिए।
उनका अनुसार अनुगमनका क्रममा अधिकांश होटलमा मूल्यसूची नराखिएको र खान अयोग्य खाद्यान्न बनाई बिक्री गरिरहेको पाइएको छ। यस्ता होटलहरूलाई आगामी दिनमा अखाद्य वस्तु बेचबिखन नगर्न/नगराउन सचेत गराइएको छ। पुनः त्यही क्रम दोहोर्याएमा कडा कारबाहीका साथै जरिवाना गराइने चेतवानी दिइएको छ।