मोरङ कारागारका कैदीबन्दीहरूबाट असुली गरेको अभियोगमा पक्राउ परेका विराटनगरका अभिषेक गिरीलाई मोरङ जिल्ला अदालतले सोमबार हाजिरी जमानीमा छाड्ने आदेश दिएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अदालत परिसरबाटै नियन्त्रणमा लिएको छ।
कारागारभित्रको आर्थिक अनियमितता सम्बन्धी अनुसन्धानमा थुनामुक्त भएका उनी अर्को मुद्दामा पक्राउ परेपछि प्रहरी अनुसन्धानको दायरा जेलभित्रबाट बाहिरसम्म फैलिएको देखिएको छ।
उनलाई काठमाडौं लैजाँदै गरेको भिडिओ पनि अहिले चर्चामा छ। भिडिओमा गिरीले आफूलाई कुटपिट गरिएको र मानवअधिकार उल्लंघन भएको दाबी गरेका छन् भने प्रहरीले उनी आफै हिँड्न नमानेपछि आवश्यक बल प्रयोग गरिएको जनाएको छ।
गिरीविरूद्ध अहिले प्रहरीले दुई फरक मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ।
एउटा,अनुसन्धान मोरङ कारागारभित्र कैदीबन्दीको श्रम र सरकारी सुविधामाथि उनले चलाएको भनिएको अवैध असुलीसँग सम्बन्धित छ भने अर्को निर्माण व्यवसायीलाई प्रभाव, त्रास र विश्वासको दुरूपयोग गरेर करोडौं रूपैयाँ बराबरको सम्पत्ति कब्जा गरेको आरोपसँग जोडिएको छ।
यसअघि झन्डै १० वर्ष जेल बसेर बाहिर निस्केपछि विराटनगरका अभिषेक गिरी दुइटा मुख्य काममा संलग्न रहेको पाइएको थियो।
उनले गरेको पहिलो काम 'अभिषेक गिरी फाउन्डेसन' मार्फत गरिने 'समाजसेवा' थियो।
उनले विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गराइरहेका थिए। त्यसको प्रचारका लागि ठूलै कसरत पनि गर्थे।
आफूलाई 'समाजसेवी' दाबी गर्ने गिरी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय हुने प्रयासमा थिए। एक पटक उनले पत्रकार सम्मेलन गरेरै कांग्रेस महानगर सभापति बन्ने आकांक्षा प्रकट गरेका थिए।
विराटनगरदेखि काठमाडौंसम्मै अपराध साम्राज्यका लागि कुनै बेला कुख्यात बनेका उनी पछिल्लो समय आफू बिल्कुल अलग बाटोमा लागेको बताउँथे।
'पहिले म राजनीतिक प्रतिशोधको शिकार बनेको थिएँ,' गिरीले भन्ने गरेका थिए, 'अहिले मेरो बाटो, शैली नै फरक छ। मैले हिँड्ने अब समाजसेवाको बाटो हो।'
देखिने र सुनिने गरी यसो भन्ने गिरी नदेखिने गरी भने अपराधको अर्कै दुनियाँ चलाइरहेको तथ्य यसपटक फेरि उजागर भयो।
मोरङ कारागारका कैदीबन्दीहरूबाट रकम असुलेको आरोपमा पक्राउ परेका उनी अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को फन्दामा छन्।
मोरङ प्रहरीका अनुसार अनुसन्धानको केन्द्रमा रहेको विषय कारागारभित्र कैदीबन्दीको श्रमबाट उत्पादन हुने सामग्रीको कारोबार हो।
कारागारका ५०० भन्दा बढी कैदीबन्दीले बुन्ने मुढा, गलैंचा लगायत सामग्रीको बिक्रीबाट उठ्ने रकम व्यक्तिगत खातामा जम्मा हुने गरेको आशंकामा अनुसन्धान भइरहेको प्रहरी स्रोत बताउँछ।
त्यस्तै, कैदीबन्दीका लागि सरकारले उपलब्ध गराउने दैनिक सिदा र लुगा भत्ताबाट समेत जबर्जस्ती रकम उठाइने गरेको उजुरी प्रहरीमा परेको थियो।
गत असार १३ गते विराटनगर–८ मधुमारास्थित घरबाट पक्राउ गर्दा प्रहरीले उनको साथबाट बैंकमा प्रयोग हुने नगद गन्ने मेसिन समेत बरामद गरेको थियो।
'कारागारमा संगठित रूपले असुली धन्दा चलाएको पाइएपछि उनलाई पक्राउ गरिएको हो,' मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले भने, 'अनुसन्धान जारी छ। उनले संगठित रूपमा अपराध धन्दा चलाएका प्रमाणहरू प्रशस्त भेटिएका छन्।'
कारागारभित्र असुली धन्दा चलाएको विषयमा अनुसन्धान चलिरहेकै बेला सिआइबीले गिरीविरूद्ध काठमाडौंमा दर्ता भएको ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पनि अनुसन्धान अघि बढाएको छ।
सिआइबी स्रोतका अनुसार गिरीले विभिन्न सरकारी आयोजनाको ठेक्का मिलाइदिने आश्वासन दिँदै निर्माण व्यवसायी सुभाष श्रेष्ठसँग व्यावसायिक सम्बन्ध स्थापना गरेका थिए।
त्यसपछि आफ्नै कम्पनी आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत निर्माणको जिम्मेवारी लिए पनि सम्झौता अनुसार काम सम्पन्न नगरेको आरोप छ।
अनुसन्धान क्रममा निर्माण कम्पनीका सवारी साधन र उपकरण कब्जामा लिइएको, केही साधन कवाडीमा बिक्री गरिएको तथा त्यसबाट आएको रकम अपचलन गरिएको दाबी गरिएको छ।
सिआइबीले जारी गरेको विज्ञप्ति अनुसार गिरीले धम्की र पुरानो आपराधिक छविको त्रास देखाएर काठमाडौंस्थित घरजग्गासमेत आफ्नो नाममा पास गराएको तथा निर्माण व्यवसायीले अन्य व्यक्तिबाट लिनुपर्ने रकमसमेत आफ्नै नाममा चेक काट्न बाध्य पारेको आरोप सार्वजनिक गरेको छ।
यिनै आरोपका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सिआइबीले गिरीलाई नियन्त्रणमा लिएको हो। अदालतले म्याद थप गरेर अनुसन्धानको अनुमति दिइसकेको छ।
विराटनगर–८ मधुमाराका ४८ वर्षीय गिरीको नाम लामो समयदेखि हत्या, अपहरण, फिरौती, ठेक्कापट्टा र असुलीसँग जोडिँदै आएको थियो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका तत्कालीन लेखापाल अच्युतप्रसाद रेग्मी अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भोगेपछि २०७९ चैतमा कारागारबाट छुटेका उनले त्यसयता सामाजिक तथा राजनीतिक गतिविधि बढाएका थिए।
अभिषेक गिरी फाउन्डेसनमार्फत विद्यालयमा पोसाक वितरण, राहत सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्दै सार्वजनिक छवि परिवर्तन गर्ने प्रयास गरेका उनले अपराधमार्फत सम्पत्ति आर्जनको बाटो नछाडेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरी अधिकारीहरूका अनुसार हालसम्मको अनुसन्धान अभिषेक गिरीमाथि केन्द्रित भए पनि उनको नेटवर्क व्यक्तिगत सीमाभन्दा बाहिर फैलिएको हुन सक्ने संकेत भेटिएका छन्।
कारागारभित्रको आर्थिक कारोबार, निर्माण व्यवसायमा गरिएको भनिएको ठगी, सम्पत्ति कब्जा र प्रभावको प्रयोगका घटनाबीच आपसी सम्बन्ध रहेको हुन सक्ने भएकाले अनुसन्धानको दायरा विस्तार गरिएको उनीहरूको भनाइ छ।
मोरङ प्रहरी र सिआइबीले आ–आफ्नो अनुसन्धानलाई समानान्तर रूपमा अघि बढाइरहेका छन्।
अनुसन्धानको निष्कर्षसँगै गिरीको अपराध सञ्जालमा अन्य व्यक्ति पनि जोडिएका छन् वा छैनन् भन्ने विषय थप स्पष्ट हुने प्रहरी अधिकारीहरू बताउँछन्।
'अपराधबाटै आर्जित पैसाले ठाउँ ठाउँमा जग्गा किनेको, गाडीहरू जोडेको पाइएको छ,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, 'अनुसन्धान नटुंगिएका कारण यसबारे अहिल्यै सबै कुरा भन्नु हतारो हुन्छ। तर समाजसेवाको आडमा अपराध गरिरहेका धेरै कुरा यसबीच भेटिएका छन्।'