सुर्खेतस्थित कर्णाली नदीमा बुधबार एक जना युवतीको शव फेला परेको छ।
दिउँसो ४ बजेतिर जिल्लाको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीको छालमा अन्दाजी १८ वर्षीया युवतीको शव फेला परेको हो।
जिल्लाका प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार मुचुल्का तयारी गरी शव उठाएर जिल्ला अस्पताल कालाखेततर्फ लैजाने क्रम जारी छ। शवको सनाखत भइसकेको छैन।
असार १८ गते दैलेखको पाल्तडा दुर्घटनासँग सम्बन्धित रहे वा नरहेकोबारे थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक यादवले बताए।
दैलेख दुर्घटनामा परी कालीकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी १८ वर्षीया सिर्जना खड्का पनि बेपत्ता छिन्। उनको शव हुन सक्ने आशंकामा घरपरिवारलाई खबर गरिएको प्रहरी निरीक्षक यादवले बताए।
आफन्त तथा घरका अभिभावक बिहीबार शवको सनाखतका लागि सुर्खेत आउने भएका छन्।
सात दिन पहिले दैलेखको उक्त गाडी दुर्घटनामा परी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका अन्दाजी २८ वर्षीय तुलसीराम सुवेदी र सहचालकसमेत रहेका उनका दाइ अन्दाजी ३१ वर्षीय रामप्रसाद सुवेदीको अवस्था पनि हालसम्म अज्ञात नै छ।
सोही दुर्घटनामा परी बेपत्तामध्येका कालीकोट पाचालझरना गाउँपालिका–९ का ६२ वर्षीय मेखे ति/"वाको शव कैलालीस्थित कर्णाली नदी किनारमा फेला परेको थियो।
सोमबार बिहान ७ बजेतिर कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदी किनारमा उनको शव फेला परेको थियो।
त्यसअघि गाडी दुर्घटना भएकै दिन असार १८ गते दिउँसो भीरमा अड्किएको अवस्थामा कालीकोटका पाचालझरना गाउँपालिका–९ कै ४५ वर्षीय जेखे तिरूवाको शव फेला परेको थियो।
असार १८ गते बिहान सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ पाल्तडाबाट झन्डै ४०० मिटरमुनि कर्णाली नदीमा खसेको थियो। बेपत्ताहरूको खोजी कार्य जारी छ।