बाल मन्दिरको जग्गा हिनामिना गरेको प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
उनका अनुसार ठगी सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका तीन जनाको नाम भने उनले खुलाएनन्।
'तीन जनालाई नियन्त्रणमा लिइएको छ। थप विवरण केही बेरमा सार्वजनिक गर्छौं,' उनले भने।
बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग २०७७ को प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा तीन जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि सिआइबीले प्रतिवेदन बुझेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
सिआइबीले नै यसअघि पनि बाल मन्दिरकै प्रकरणमा अनुसन्धान गरी १७ जनाविरूद्ध मुद्दा दर्ता भइसकेको छ।
उक्त मुद्दामा ६० करोड ३९ लाख ७७ हजार २३१ रूपैयाँ बिगो मागदाबी गरिएको थियो।
नेपाल बाल संगठनलाई हानि-नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक पटक न्यून रकममा सम्झौता गरेको उजुरी परेको थियो।