नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले शान्ति सुरक्षा र विधिको शासन प्रवर्द्धन गर्नका लागि संयुक्त राष्ट्रसंघसँग निरन्तर सहकार्य गर्न तयार रहेको बताएका छन्।
न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा आफ्नो धारणा राख्दै उनले निरन्तर सहकार्य गर्न तयार रहेको बताएका हुन्।
‘युएन पुलिसले मानव अधिकारको संरक्षण, समुदायमुखी प्रहरी व्यवस्था, समावेशी नेतृत्व तथा दिगो शान्ति र सुरक्षाको प्रवर्द्धनका लागि साझेदारीलाई निरन्तर अघि बढाइरहनुपर्छ। आजका चुनौतीहरूले अझ सुदृढ बहुपक्षीयता, नवप्रवर्तन र व्यावसायिकता तथा साझेदारीद्वारा निर्देशित सामूहिक कार्यको माग गरेको छ,’ उनले भने।
उनले नेपालले आफ्नो ठाउँबाट शान्ति सुरक्षा र विधिको शासन प्रवर्द्धनका लागि योगदान गर्न तयार गरेको धारणा दिएका हुन्।
‘हामीले सबैका लागि शान्ति, सुरक्षा र विधिको शासनलाई प्रवर्द्धन गर्न निरन्तर सहकार्य गर्दै अघि बढ्नुपर्छ। नेपाल यस प्रयासमा आफ्नो तर्फको योगदान दिन सदैव तयार छ,’ उनले भने।
उनले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरूपयोगबाट सिर्जित चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन नसक्ने उल्लेख गरेका थिए।
यसका लागि सूचना आदानप्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले शान्ति मिसनमा नेपाल प्रहरीले दशकौंदेखि व्यावसायिकता, निष्पक्षता र अनुशासनका साथ निर्वाह गरेको बताउँदै विश्व शान्ति स्थापनामा नेपालको प्रतिबद्धता निरन्तर रहने बताए।
साथै, महिला प्रहरीको सहभागिता वृद्धि, समुदाय–प्रहरी साझेदारी, मानव अधिकारको सम्मान तथा कानूनको शासनलाई केन्द्रमा राखेर आधुनिक प्रहरी सेवाको विकासमा नेपाल प्रहरी प्रतिबद्ध रहेको धारणा राखे।