नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।
नेपाल बाल संगठन तथा बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन तथा प्रहरी प्रतिवेदनका आधारमा दर्ता भएको ठगी सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा नेपाल बाल संगठनबाट अनियमित रूपमा रकम लिई ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनीहरूलाई असार २४ गते विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये नेपाल बाल संगठन, केन्द्रीय कार्यालय बाल मन्दिर, नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल संगठन जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य तथा नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौंका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता अनुपेस शमशेर ज.ब.रा.ले बताए।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना विरूद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
अनुसन्धान प्रक्रिया जारी रहेको पनि उनले जानकारी दिए।