दैलेख गाडी दुर्घटनामा परी बेपत्ता अर्का एक जनाको शव पनि फेला परेको छ।
सुर्खेतको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीको छालमा बुधबार दिउँसो ४ बजेतिर फेला परेको शव कालीकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी १८ वर्षीया सृजना खड्काको रहेको खुलेको हो।
दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विश्वकर्माका अनुसार बिहीबार बेलुकी साढे ६ बजेतिर सुर्खेत जिल्ला अस्पताल कालागाउँमा गई बुबा धनबहादुर खड्काले सृजनाको शवको सनाखत गरेका हुन्।
धनबहादुर कालीकोटस्थित घरबाट सुर्खेत आएर शवको सनाखत गरेका थिए। योसँगै दैलेख दुर्घटनामा बेपत्तामध्ये हालसम्म दुई जनाको शव फेला परेको हो।
सोही दुर्घटनामा परी बेपत्तामध्येका कालीकोट पचालझरना गाउँपालिका–९ का ६२ वर्षीय मेखे तिरूवाको शव सोमबार बिहान ७ बजेतिर कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदी किनारमा फेला परेको थियो। मंगलबार उनको शवको सनाखत गर्न परिवारका सदस्य आएका थिए।
उनीभन्दा पहिले गाडी दुर्घटना भएकै दिन असार १८ गते दिउँसो भीरमा अड्किएको अवस्थामा कालीकोटको पचालझरना गाउँपालिका–९ कै ४५ वर्षीय जेखे तिरूवाको शव फेला परेको थियो। मृतक मेखे र जेखे साढु–दाजुभाइ हुन्।
उक्त गाडी दुर्घटनामा परेकामध्ये सहोदर दाजुभाइ भने अझै फेला परेका छैनन्।
सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका गाडीका चालक अन्दाजी २८ वर्षीय तुलसीराम सुवेदी र उनका दाइ तथा गाडीका सहचालक अन्दाजी ३१ वर्षीय रामप्रसाद सुवेदीको अवस्था हालसम्म अज्ञात छ।
घटना भएकै दिनदेखि बेपत्ताहरूको खोजी गोताखोरहरूले निरन्तर गर्दै आएका छन्। खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिँदै आएका छन्। हालसम्म गाडी पनि फेला पर्न सकेको छैन।
असार १८ गते बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडाबाट झन्डै ४०० मिटरमुनि कर्णाली नदीमा खसेको थियो।