आफैंमाथि आगजनी गरेका गणेश नेपालीको मृत्यु भएको छ।
मुगु सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
बिहीबार दिउँसो १:४० बजेतिर नेपालीले त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग पछाडिको सडकमा आफैंमाथि आगजनी गरेका हुन्।
उनी राइड सेयरिङका राइडर हुन्। यात्रु लिएर विभाग पुगेका उनको मोटरसाइकलमा ह्विल लक लगाएको विषयमा काठमाडौं महानगर प्रहरी बलका अधिकारीसँग विवाद भएको थियो।
एसपी भट्टराईका अनुसार उनी त्यहाँ अन्दाजी ११ बजेतिर विभाग पुगेका थिए। विवाद भएपछि त्यहाँबाट निस्किएका उनी १: ४० तिर फर्किएको एसपी भट्टराईले बताए।
त्यसबेला उनको मोटरसाइकल महानगर प्रहरीले लग्न लागेपछि उनले आत्मदाह गरेको एसपी भट्टराईले जानकारी दिए।
उनले आफैंमाथि आगो लगाएपछि त्यहाँ रहेका विभिन्न व्यक्तिले पानी छर्केर निभाएका थिए।
पछि उनलाई प्रहरी र सर्वसाधरणले दोहोर्याएर मुख्य सडकसम्म ल्याएका थिए। त्यही बेलामा ट्याक्सी खोजेर त्यसमा राखेर उनलाई वीर अस्पताल लगिएको थियो।
मृतक नेपालीको शव पोष्टमर्टमको लागि अहिले टिचिङ अस्पताल लग्ने तयारी भइरहेको छ।
यस विषयमा गृहमन्त्री सुधन गुरूङले मन्त्रालयमा छलफल गरिरहेका छन्। त्यहाँबाट उनी वीर अस्पताल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ।