कैलाली प्रहरीले एक जना सेनाका प्यूठलाई सर्वसाधारणलाई दुःख दिनेगरी प्र्याङ्क भिडिओ बनाउँदै नहिँड्ने कुरा सम्झाएर छोडेको छ।
सुदूरपश्चिमको भीमदत्त नगरपालिका –९ घर भई तेघरी ब्यारेकमा कार्यरत प्यूठ योगेश थापा सर्वसाधारणको गुनासोपछि प्रहरीले नियन्त्रणमा लिई सम्झाइबुझाइ गरी छाडेको कैलालीका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।
बाटोमा हिँड्ने मानिसहरूलाई जबरजस्त बोल्न लगाउने, प्रयाङ्क भिडिओ बनाउने तथा सर्वसाधारणलाई दुःख दिने जस्ता कार्य गरेको गुनासको आधारमा प्रहरीले थापालाई सोधपुछका लागि बिहीबार केहीबेर नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार उनले बाटोमा हिँड्ने मानिसलाई झुक्क्याउन तपाईंको पैसा खसेको छ भन्थे र त्यो अरूलाई टिप्न लगाउँथे। त्यस्तो भिडिओहरू निर्माण गरी उनीहरूको अनुमतिबिना नै भिडिओ सार्वजनिक गर्दै आएका थिए। त्यसबारे सर्वसाधारणले गुनासो गरेपछि प्रहरीले प्यूठ थापालाई अत्तरियाबाट नियन्त्रणमा लिई सम्झाइबुझाइ गरी कागज गराई आफन्तको जिम्मामा छाडेको प्रहरी प्रवक्ता तिमिल्सिनाले बताए।