भारत निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किएर आत्मसमर्पण गर्ने बताएकी छन्।
समाचार संस्था रोयटर्ससँग कुरा गर्दै हसिनाले आफू र आफ्नो पार्टी अवामी लिगका वरिष्ठ सहकर्मीहरू आगामी डिसेम्बरको आसपास निर्वासनबाट फर्किएर आत्मसमर्पण गर्ने योजनामा रहेको जनाएकी छन्।
'मेरो फिर्तीमा उनीहरूले मलाई पक्राउ गर्न सक्छन्, उनीहरूले मलाई मार्न पनि सक्छन्,' बिहीबार अबेर र शुक्रबारसम्म चलेको करिब एक घण्टा लामो टेलिफोन अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले भनिन्, 'तै पनि, मैले जानैपर्छ। मेरो पार्टीका नेता र कार्यकर्ताहरूमाथि ठूलो दमन भइरहेको छ। यदि मृत्यु आउँछ भने, म यो आफ्नै माटोमा आओस् भन्ने चाहन्छु, जहाँ मेरा आमाबुबा गाडिएका छन् र जहाँ उनीहरूको रगत बगेको थियो।'
बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी हसिना सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहपछि देश छोडेर भारत भागेकी थिइन्।
सो विद्रोहका दौरान हिंसात्मक दमन गरेको भन्दै हसिनालाई मानवता विरूद्धको अपराधको अभियोग लगाइएको थियो। सो मुद्दामा गत नोभेम्बरमा फैसला गर्दै त्यहाँको विशेष न्यायाधीकरणले मृत्युदण्डको सजाय सुनाइएको थियो।
मुद्दा नचलाइकन र फैसला आएपछि पनि बंगलादेश हसिनालाई फिर्ता पठाउन पटक-पटक भारतलाई आग्रह गरे पनि भारतले मानेको थिएन। अब भने हसिना आफै स्वदेश फर्किने बताएकी हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)