आफैमाथि आगो लगाएपछि मृत्यु भएका मुगुका गणेश नेपालीको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
शुक्रबार बेलुकी सवा १० बजेतिर शव त्रिवि शिक्षण अस्पताल पठाइएको वीर अस्पतालका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।
वीर अस्पतालमा लामो समयसम्म राख्ने सुविधा नभएका कारण शव सुरक्षित राख्नका लागि मात्रै त्रिवि शिक्षण अस्पताल पठाइएको उनले बताए।
‘वीरमा आइसियूमा मानिसको मृत्यु भए पछि बढीमा एक घन्टासम्म मात्रै राख्न सकिन्छ। धेरै समय राख्दा बाँकी बिरामी र अरूलाई पनि संक्रमण फैलिने डर हुन्छ। हप्तौंसम्म महिनौंसम्म शव राख्ने मिल्ने चिस्यान गृह त्रिवि शिक्षण अस्पतालमा छ। त्यसकारण त्यहाँ पठाइएको हो,’ प्रवक्ता बुढाथोकीले सेतोपाटीसँग भने।
मृतकका परिवार र सरकारबीच वार्ता र सहमति भएपछि मात्रै पोस्टमर्टम प्रक्रिया अगाडि बढ्ने उनले बताए।
वीर अस्पतालमा शुक्रबार केहीबेर मृतकका परिवारसँग छलफल भएको भए पनि उनीहरूले शनिबार मात्रै वार्ता बस्ने भनेपछि तत्कालका लागि शव सुरक्षित राख्न पठाइएको हो।
‘हिजो मृतकका बुवाआमालाई कुर्यौं। उहाँहरू लगभग साढे ७/८ बजे आइपुग्नुभयो। त्यसपछि काउन्सिलिङ गर्यौं र वार्ता गरेर टुंग्याऔं भन्यौं। तर वार्ता भोलिमात्रै बस्ने भन्नुभयो। त्यो भएर टिचिङमा लगेर राखिएको हो। सुरक्षित राख्न मात्रै हो,’ उनले भने।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले पनि शव वीर अस्पतालबाट त्रिवि शिक्षण अस्पताल पठाइएको बताए।
गणेशले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
उनी सवार मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाइदिएपछि विवाद गणेश र महानगर प्रहरीबीच विवाद भएको थियो।
महानगर प्रहरीले उनको मोटरसाइकल गाडीमा हाल्न खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाएका थिए।
उनको उपचारकै क्रममा शुक्रबार बिहान वीर अस्पतालमा मृत्यु भएको थियो।
सरकारले उपचारका लागि भारत लैजाने तयारी गरेपनि उनको स्वास्थ्य अस्थिर हुँदा चिकित्सककै सल्लाहमा वीर अस्पतालमै उपचार जारी राखिएको थियो।
घटनापछि प्रहरीले तीन जना महानगर प्रहरीलाई सोधपुछ गरेर छाडेको छ।
घटनाको छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ।