दैलेखमा गाडी दुर्घटनामा परी बेपत्ता सहचालकको शव पनि फेला परेको छ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका गाडीका सहचालक अन्दाजी ३१ वर्षीय रामप्रसाद सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका –२ जमगडास्थित कर्णाली नदीमा फेला परेको हो।
दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विश्वकर्माका अनुसार शनिबार बिहान ७ बजेतिर नदी किनारमा फेला परेको शवको सनाखत उनका बुवाले दिउँसो सवा ३ बजेतिर गरेका थिए।
प्रहरीले दिएको विवरण अनुसार उक्त दुर्घटनामा परी बेपत्तामध्य अब गाडीका चालक अन्दाजी २८ वर्षीय तुलसीराम सुवेदी मात्रै फेला पर्न बाँकी छन्।
बेपत्ता चालक र शनिबार मृत फला परेका सहचालक सहोदर दाजु भाइ हुन्।
यसअघि मंगलबार सुर्खेतको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीको छालमा दिउँसो ४ बजेतिर फेला परेको शव कालीकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी १८ वर्षीया सृजना खड्काको रहेको खुलेको थियो।
बिहीबार बेलुकी साढे ६ बजेतिर सुर्खेत जिल्ला अस्पताल कालागाउँमा गई बुबा धनबहादुर खड्काले सृजनाको शवको सनाखत गरेका थिए।
सोही दुर्घटनामा परी बेपत्तामध्येका कालीकोट पचालझरना गाउँपालिका–९ का ६२ वर्षीय मेखे तिरूवाको शव सोमबार बिहान ७ बजेतिर कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदी किनारमा फेला परेको थियो। मंगलबार उनको शवको सनाखत गर्न परिवारका सदस्यले गरेका थिए।
गाडी दुर्घटना भएकै दिन असार १८ गते दिउँसो भीरमा अड्किएको अवस्थामा कालीकोटको पचालझरना गाउँपालिका–९ कै ४५ वर्षीय जेखे तिरूवाको शव फेला परेको थियो। मृतक मेखे र जेखे साढु–दाजुभाइ हुन्।
असार १८ गते बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालीकोट जाँदै गरेको क।प्र। ०२–००१ ख १०५५ नम्बरको यात्रु वाहक गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडाबाट झन्डै ४०० मिटरमुनि कर्णाली नदीमा खसेको थियो।
दुर्घटना भएकै दिनदेखि बेपत्ताहरूको खोजी गोताखोरहरूले निरन्तर गर्दै आएका छन्। खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिँदै आएका छन्। हालसम्म कर्णालीमा खसेको गाडी पनि फेला पर्न सकेको छैन।
तीन जनाको शव भने दुर्घटना स्थल भन्दा धेरै टाढा अछाम, सुर्खेत र कैलालीमा बगाएर लगेको अवस्थामा फेला परेका हुन्।