यस वर्षको नन्दप्रसाद जानुका स्मृति सम्मानबाट शिक्षासेवी इञ्जिनियर आत्माकृष्ण श्रेष्ठ सम्मानित हुने भएका छन्।
नन्दप्रसाद जानुका फाउण्डेशनले २५ हजार नगद र सम्मानपत्रसहित प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान यो वर्ष दोलखाको शैक्षिकसँगै समग्र विकासमा क्रियाशील श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले बताए।
भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिने छ।
नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत भएका ८८ वर्षीय श्रेष्ठ गौरीशंकर बहुमुखी क्याम्पस चरीकोटका संस्थापक तथा अध्यक्ष, गौरीशंकर सामुदायिक पुस्तकालय चरीकोटका संस्थापक तथा अध्यक्ष, सिंगटी सामुदायिक अस्पताल सिंगटीका संस्थापक तथा अध्यक्ष छन्।
श्रेष्ठ दोलखा विकास मञ्चका संस्थापक अध्यक्ष, विभिन्न विद्यालयमा स्थापना भएका रूपा स्मृति पुस्तकालयका संस्थापक, रूपा फाउण्डेशनका संस्थापक, दोलखा लायन्स क्लबका पूर्वअध्यक्ष र दोलखा गुठीका अध्यक्षसमेत छन्।
दोलखाको शैक्षिक अगुवा, सामाजिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटी तथा उनकी धर्मपत्नी जानुका शिवाकोटीको नाममा स्थापित नन्दप्रसाद जानुका फाउण्डेशन विभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको छ।
फाउण्डेशनले दोलखाको शैक्षिक उन्नयन तथा सामाजिक रुपान्तरणका माध्यमबाट समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने व्यक्तिहरूलाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ।
२०८२ सालको नन्दप्रसाद जानुका स्मृति सम्मानबाट शिक्षासेवी मिलनराज तुलाधर सम्मानित भएका थिए भने २०८१ मा पत्रकार शम्भु गौतम सम्मानित भएका थिए।