राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता एक जना बालकको शव फेला परेको छ।
बेपत्ता रहेका अर्का बालिकाको खोजी जारी छ।
बाँकेको डुडुवा गाउँपालिका–५ का विकास रावतका ९ वर्षीय छोरा सुलभको शव आइतबार बिहान ८ बजेतिर फेला परेको बाँकेका डिएसपी प्रतिकसिंह राठोरले बताए।
डिएसपी राठोरका अनुसार संगै पौडी खेल्न राप्ती नदीमा गएकी स्थानीय ११ वर्षीया खुसी सिजापतीको खोजी कार्य जारी छ। उनी स्थानीय गोविन्द सिजापतिकी छोरी हुन्।
प्रहरीका अनुसार उनीहरू दुबै जना शनिबार साँझ साढे ६ बजेतिर गढवा नालास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। उनीहरू बेपत्ता भएकोबारे राति पौने १० बजे मात्रै प्रहरीले सूचना पाएको थियो।
घटनास्थल नदी किनारमा उनीहरूको कपडा प्रहरीले फेला पारेको थियो।