राहदानी विभाग अगाडि बिहीबार पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।
उनले जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुधन गुरूङको हातबाट नागरिकताको प्रमाणपत्र लिएकी हुन्।
उनीहरूको चार वर्षअघि विवाह भए पनि अहिलेसम्म विवाह दर्ता भएको थिएन। एकमायाले नागरिकता पनि बनाएकी थिइनन्। श्रीमानको मृत्युपछि विवाह दर्ता गर्नुका साथै उनको नागरिकता पनि बनेको एक आफन्तले जानकारी दिए।
राहदानी विभाग अगाडि आफैमाथि पेट्रोल खन्याएर आगो लगाएका गणेशको शुक्रबार उपचार क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि आइतबार सरकार पक्ष र परिवारबीच ९ बुँदे सहमति भएको छ।
परिवार र सरकारबीच सहमति भएसँगै अब परिवारले शव बुझ्ने भएको छ।
गणेशको परिवार र सरकारबीच ९ बुँदे सहमति, परिवार शव बुझ्न तयार
त्रिपुरेश्वरको राहदानी विभाग अगाडि बिहीबार दिउँसो पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीको घटनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको वार्तामा पीडित परिवारलाई राहत, रोजगारी, शिक्षा र घटनाको निष्पक्ष छानबिन गर्ने लगायतका बुँदामा सहमति भएको हो।
यो सहमतिसँगै पीडित पक्ष शव बुझ्न तयार भएको छ।
यस्ता छन् सहमतिका मुख्य बुँदाहरू —
१) पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति — घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले गठन भएको ७ दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ।
२) सहिद घोषणाको प्रक्रिया अघि बढाइने — गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन र छानबिन समितिको प्रतिवेदनका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ।
३) नगर प्रहरी निलम्बन गरिने — घटना भएको दिन कार्यक्षेत्रको अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन नआएसम्म निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई लेखी पठाउनेछ।
४) श्रीमतीलाई रोजगारी र छोरीलाई उच्च शिक्षा — काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकको निर्णय अनुसार गणेशकी श्रीमतीलाई योग्यताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, उनकी छोरीको उच्च शिक्षासम्मको अध्ययन खर्च महानगरपालिकाले बेहोर्नेछ।
५) राहत र काजकिरिया खर्च — कार्यपालिका बैठकबाट निर्णय गराई मृतकका आश्रित परिवारलाई राहत स्वरूप यथोचित रकम उपलब्ध गराइनेछ। साथै, अन्तिम संस्कार र काजकिरियाको सम्पूर्ण व्यवस्थापन तथा खर्च महानगरपालिकाले बेहोर्नेछ।
६) स्वास्थ्य बिमा र खाद्य स्वच्छता — पीडित परिवारको स्वास्थ्य बिमा र खाद्य स्वच्छताका लागि सम्बन्धित मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइनेछ।
यसबाहेक गणेशको परिवारका सदस्यहरूका लागि आतेजाते खर्च, काजकिरिया अवधिभर काठमाडौंमा बस्दा हुने सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले बेहोर्नेछ।
सहमतिपत्रमा नेपाल सरकारबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्।
त्यस्तै, पीडित परिवार र वार्ता समितिबाट गणेशकी श्रीमती एकमाया नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपाली र वार्ता समितिका सदस्यहरू धर्मराज शाही, भक्त बहादुर रावत, मन नेपाली सहित १३ जनाले हस्ताक्षर गरेका छन्।
यस्तो छ सहमतिको पूर्ण पाठ —

