कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट जबर्जस्ती स्थानान्तरणको विरोध गर्ने क्रममा जेनजी अभियानीहरू माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापा लगायतमाथि भएको प्रहरी धरपकडको विरोधमा आइतबार जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ।
जेनजी मुभमेन्ट अलायन्स, मधेस प्रदेशको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार तथा शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न सरकारसँग माग गरेका थिए।
प्रदर्शनकारीहरूले विभिन्न प्लfकार्डमार्फत सरकारको दमनकारी प्रवृत्तिको विरोध गर्दै पक्राउ परेका अभियानीहरूको तत्काल रिहाइको माग गरेका थिए।
कार्यक्रममा बोल्दै जेनजी मुभमेन्ट अलायन्स, मधेस प्रदेशका प्रतिनिधि मो. नइम राईनले लोकतान्त्रिक व्यवस्थामा नागरिकको आवाज दबाउने प्रयास स्वीकार्य नहुने बताए।
उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी युवाहरूमाथि धरपकड गर्नु संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारविपरीत रहेको धारणा व्यक्त गरे।
प्रदर्शनकारीहरूले पक्राउ परेका अभियानीहरूको बिनासर्त रिहाइ, आन्दोलनकारीमाथि लगाइएका मुद्दाहरू फिर्ता तथा नागरिक स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन्।