जाजरकोटमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । उनकी छोरी र नातिनी घाइते भएका छन्।
जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षापछि आएको पहिरोले ७१ वर्षीया जयशिलाकुमारी शाहको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बुद्धिसागर पुरीले बताए ।
सोमबार बिहान २ बजेतिर जस्ता पाताको अस्थायी टहरामाथि ढिस्को खसेर च्याप्दा जयशिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
पहिरोबाट शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र उनकी ७ वर्षीया छोरी टीका थापा घाइते भएका छन।
उनीहरुको अवस्था सामान्य रहेको तथा स्थानीय अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय आएको भूकम्प पछि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट शाहले अस्थायी टहरो निर्माण गरी बस्दै आएको स्थानीयले बताएका छन्।
हाल घटनास्थलतर्फ जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुधिरराज खड्काको नेतृत्वमा टोली पुग्दै छ।