जेन्जी अभियानी माजिद अन्सारीले त्रिवि शिक्षण अस्पतालमा आफ्नो उपचार भइरहेको बताएका छन्।
शनिबार सुकुम्बासी राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका उनलाई प्रहरीले लछारपछार गरेर नियन्त्रणमा लिएको थियो।
त्यसक्रममा घाइते भएका उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफू उपचारमै भएको जानकारी गराएका हुन्।
माजिदले आफूलाई अहिलेसम्म पक्राउ पर्नुको कारण प्रहरीले जानकारी नदिएको पनि बताएका छन्।
'मलाई अहिलेसम्म मेरो पक्राउको कारण बारेमा कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ । मेरो पक्राउको कानूनी हैसियत बारेमा पनि कुनै स्पष्टता छैन,' उनले भनेका छन्।
उनले आफूलाई लक्ष्य गरेर गैरकानुनी कारबाही गरिएको दाबी गरेका छन्।
'के गृहमन्त्री वा प्रहरी प्रमुख ज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानूनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो?,' उनले भने।
माजिदले आफ्नो जीवन र स्वतन्त्रता रक्षाका लागि सम्बन्धित निकायलाई आग्रह पनि गरेका छन्।
'म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसदका सबै माननीय सदस्यहरू, प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु,' उनले भनेका छन्।
शनिबार होल्डिङ सेन्टरमा उद्धारको काम भइरहेको अवस्थामा हो-हल्ला गरेको भनेर प्रहरीले माजिदसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणामा रहेका बाँकीलाई प्रहरीले छाडिसकेको छ।
माजिदको हकमा उनी अझै प्रहरी नियन्त्रणमा हुन्, पक्राउ गरिएको वा म्याद थप गर्न लागिएको हो भनेर काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईलाई सोधेका छौं।
एसपी भट्टराईले माजिदलाई पक्राउ नगरिएको बताए।
‘हामीले उहाँलाई पक्राउ गरेकै हैनौं। त्यहाँ प्रहरी र उहाँहरूबीच छिनाझपटी भइसकेपछि हटाइएको हो। हटाएपछि चोट लागेको भन्नुभयो। चोट लागेपछि कीर्तिपुर अस्पताल लग्यौं। त्यहाँ चेक गरियो। आँखामा अलिकति समस्या देखियो भनेर टिचिङमा पठाइएको हो,’ उनले थपे, ‘हामीले उहाँलाई न थुनामा राखेका छौं। न कुनै कारबाही गरेका छौं।’
अन्सारीविरूद्ध कुनै पनि किसिमका कारबाही प्रक्रिया अगाडि नबढाइने पनि एसपी भट्टराईले जानकारी दिएका छन्।