विराटनगरस्थित कोशी अस्पतालको जग्गामा अतिक्रमण गरी बनाइएका ३२ वटा व्यावसायिक सटरहरू अस्पताल प्रशासनले भत्काएको छ।
ती सटरहरू सोमबार बिहान डोजर चलाएर भत्काइएको हो।
देवकोटा पुस्तकालय, नेपाल रेडक्रस प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, गणेश मन्दिर र नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका २६ वटा र कोशी अस्पतालको छ वटा सटर गरी ३२ वटा सटर भत्काइएको अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलले जानकारी दिएका छन्।
प्रहरीको बाक्लो उपस्थितिमा अतिक्रमित भवनका सटरहरू भत्काइएको हो।
जनसम्पर्क अधिकारी लुइँटेलका अनुसार स्वास्थ्य तथा खाद्य स्वस्च्छता मन्त्रालयको निर्देशन अनुरूप हाललाई अस्पतालको जग्गाभरि कम्पाउन्ड मात्रै लगाई सुरक्षित पारिने भएको छ।
मन्त्रालयको अर्को निर्देशन नआउञ्जेल सो काम मात्रै गर्ने अस्पताल प्रशासनले जनाएको हो।
मन्त्रालयले भौतिक संरचना निर्माण गर्ने निर्देशन दिए सो काम पनि हुँदै जाने जनसम्पर्क अधिकारी लुइँटेलले बताए।
कोशी अस्पतालका प्रमुख मेडिकल डा चन्द्रभाल झाका अनुसार प्रयोग गर्न मिल्ने र सेवा विस्तारमा आउने भवनलाई हाललाई नभत्काइकन प्रयोग गरिने भएको छ।
अस्पतालमा बिरामीहरूको चाप अनुसार सेवा विस्तार गर्न अपुग रहेका भवन तथा वार्डहरू सोही खाली ठाउँमा सञ्चालन गरिने उनले बताए।
कोशी अस्पताल प्रशासनले आफ्नो स्वामित्वको जग्गामा अतिक्रमण गरी बनाइएका व्यावसायिक संरचनाहरू भत्काउन दोस्रो पटक सूचना जारी गर्नु परेको थियो।
दोस्रो पटकको सूचनाको म्याद सकिनु अगावै सटर खाली भएपछि सटर भत्काउन सुरू गरिएको हो।