राहदानी विभागले नयाँ प्रणालीबाट पासपोर्ट वितरण सुरू गरेको छ।
विभागले विज्ञप्ति जारी गर्दै सोमबारदेखि नयाँ प्रणालीबाट पासपोर्ट वितरण सुरू भएको जानकारी दिएको छ। केही आवेदकले सोमबार नै सेवा लिइसकेको पनि विभागले जनाएको छ।
तीन महिनासम्म सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारू रहने आयोगले जनाएको छ।
पासपोर्ट छाप्ने ठेक्का जर्मन कम्पनीले पाएको थियो। ठेक्का रद्द गर्न प्रधानमन्त्री बालेन शाहकै सचिवालयको टिम लागेको भए पनि चर्को आलोचनापछि जर्मन कम्पनीलाई नै पासपोर्ट छाप्न दिने सहमति भएको थियो।
विभागले नयाँ प्राणलीबाट पासपोर्ट उपलब्ध गराउन नेपालको इतिहासकै सबभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न गरिएको जनाएको छ।
'व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको जानकारी गराउन चाहन्छौं । करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
विभागले यस्ता सम्भावित अवस्थाको पूर्वतयारी स्वरूप विभागका प्राविधिक टोली एवं कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसै घन्टा स्ट्यान्ड-बाई रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण तथा सुधारमा खटिरहेको बताएको छ।
नयाँ प्रणालीको सुरूआत भएका कारण अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ।