कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभी लगायत मिडिया हाउसको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुने गरी शंकास्पद रूपले गाडी पार्क गरिएको घटनाले थुप्रै प्रश्न जन्माएको छ।
सोमबार एकाबिहानै सञ्चारगृह प्रवेश गर्ने गेट अगाडि अनधिकृत रूपले गाडी पार्क गरिएको देखिएपछि हल्लाखल्ला भएको थियो।
तीनकुनेस्थित कान्तिपुर मिडियाको गेट अगाडि झन्डै ६ बजेतिरै बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी पार्क गरी अलपत्र छाडिएको अवस्थामा भेटियो।
गेट अगाडि अरू कुनै सवारी आवागमन गर्न नमिल्ने गरी उक्त गाडी रोकेर राखिएको थियो।
त्यसको केही बेरमा बुद्धनगरस्थित अनलाइनखबरको अफिस अगाडि पनि त्यस्तै किसिमले आवागमन रोकिने गरी गाडी पार्क गरिएको सूचना सार्वजनिक भयो। त्यहाँ बा१२च ८५४५ नम्बरको गाडी पार्क गरिएको थियो। उक्त गाडी पनि ठ्याक्कै गेट अगाडि नै राखिएको थियो।
यसरी दुई मिडिया गृहको गेट अगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएको खुलेपछि पत्रकारहरूबीच सूचना आदानप्रदान भयो। कसैले मिडियालाई नै लक्ष्य गरेर नियतवश गाडी पार्किङ गरेको हो कि भन्नेबारे पनि सोधखोज गरियो।
यसरी बुझ्ने क्रममा मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनको अफिस छिर्ने बाटोमा पनि त्यसरी नै गाडी रोकेर राखेको पाइयो। त्यहाँ बा१०च १२५५ नम्बरको गाडी पार्क गरिएको भेटिएको थियो।
मिडिया हाउस मात्र होइन, अनामनगरस्थित भाटभटेनी सुपर मार्केट अगाडिको सडकमा पनि अनधिकृत रूपले गाडी पार्क गरेर राखिएको फेला पर्यो।
यसअघि आइतबार न्यूरोड क्षेत्रमा पनि सडकमै गाडी पार्क गरेर आवागमन प्रभावित तुल्याइएको थियो, बजार अस्तव्यस्त पारिएको थियो।
मिडिया हाउस, व्यापारिक केन्द्र र काठमाडौंको मुख्य बजार प्रभावित हुने गरी जथाभाबी गाडी पार्क गरिएको घटनाले कसले कुन प्रयोजनका लागि यसरी गाडी पार्क गरियो भन्ने प्रश्न उठेको छ। सँगसँगै, सम्बन्धित मिडिया हाउसले प्रहरीलाई खबर गर्दा पनि लामो समयसम्म ती गाडी हटाउन किन पहल भएन भन्ने प्रश्न पनि उठेको छ।
हामीले यसबारे यातायात व्यवस्था विभाग र प्रहरीहरूसँग कुरा गर्दा कान्तिपुर मिडिया हाउस अगाडि राखिएको बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको देखिएको छ। उक्त गाडी एसटी मोटर्सले लिएको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ।
कान्तिपुर मिडिया ग्रुपको मानव संशाधन विभाग प्रमुख परमानन्द खनालका अनुसार उक्त गाडी रवि जयसवाल भन्ने व्यक्तिले चलाउने गरेको पाइएको छ। उनी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य रहिसकेको खुलेको छ।
कान्तिपुरका खनालले सम्पर्क गर्दा जयसवालले आफू नगरकोटमा रहेको बताएका थिए।
‘मैले गाडी साथीलाई दिएको थिएँ। म त नगरकोटमा छु। तपाईंहरूले ट्राफिकको जिम्मामा छाड्नू। म पनि आउँछु,’ उनको भनाइ उद्धृत गर्दै खनालले भने।
हामीले जयसवाललाई सम्पर्क गर्दा उनको मोबाइल नम्बर अफ थियो।
कान्तिपुरले बिहानै प्रहरीलाई खबर गरेको भए पनि उक्त गाडी हटाउन तत्काल पहल नगरिएको कान्तिपुरका पत्रकारहरू बताउँछन्। अहिले उक्त गाडी क्रेनले तानेर बग्गीखानामा लगिएको छ। कान्तिपुरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आफूहरूको सहमतिबिना गाडी नछाड्न जाहेरी पनि दिएको मानव संशाधन प्रमुख खनालले बताए।
त्यस्तै, अनलाइनखबरको गेट अगाडि पार्क गरिएको बा१२च ८५४५ नम्बरको गाडी सुनील पौडेलको नाममा रहेको भेटिएको छ।
'हामीले त्यो गाडी सुनील पौडेलको नाममा दर्ता भएको रेकर्ड भेटियो,' अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले भने, 'उनले किन गाडी छाडे भन्ने खुलिसकेको छैन।'
अनलाइनखबरमा पनि बिहानैदेखि उक्त गाडी पार्क गरिएको थियो। करिब ११ बजेतिर प्रहरीलाई खबर गरिएको र केही मन्त्रीलाई समेत जानकारी गराइएको अनलाइनखबरका पत्रकारहरूले बताए। प्रहरीलाई खबर गर्दा पनि तत्काल गाडी हटाउनेतिर पहल नभएको उनीहरूको भनाइ छ।
खबर गरेको धेरै पछि प्रहरी आएर गाडी नम्बर सुनील पौडेलको हो भन्ने पत्ता लगाएको पत्रकारहरू बताउँछन्। अनलाइन खबरकर्मी कृष्ण ज्ञावलीका अनुसार प्रहरीले त्यहीबाट सुनिल पौडेललाई फोन गरेको थ। उनले गाडी आफ्नो भएपनि भाइलाई चलाउन दिएको जानकारी प्रहरीलाई दिए। साथै उनले प्रहरीलाई भाइको नम्बर पनि दिए।
सुनिलले प्रहरीलाई दिएको उक्त नम्बर सेतोपाटीलाई प्राप्त भएको छ।
उक्त नम्बरमा फोन गर्दा ट्रुकलरमा सुजन पौडेल नाम देखियो। उनले सेतोपाटीसँगको कुराकानीमा अनलाइनखबरको गेटअगाडि गाडी छाड्ने आफू नै भएको बताए।
'मैले नै त्यहाँ गाडी छाडेको हुँ,' उनले भने, 'मलाई त्यहाँ पार्किङ गर्न मन लाग्यो, गरेँ। मिडियाहरूले यत्तिकै शंकास्पद गतिविधि भन्दै हामीलाई भाइरल बनाइदिने? कसैको गेट अगाडि पार्क गरियो भने त्यो गाडी शंकास्पद हुन्छ?'
त्यस्तै, हिमालयन टेलिभिजन अगाडि छाडिएको बा१०च १२५५ नम्बरको गाडी डिआर अटोमोटिभ्स, धुम्बाराहीको नाममा रहेको देखिएको छ।
भाटभटेनी अगाडि राखिएको गाडी भने कसको हो भन्ने खुलिसकेको छैन।
मिडिया हाउस र बजारमा अनधिकृत रूपले गाडी राखिएका घटना सार्वजनिक हुँदै जाँदा रास्वपाका निवर्तमान केन्द्रीय सदस्य मधुसुदन ढकालले सेतोपाटीकै समाचार सेयर गर्दै 'अव्यस्थित पार्किङले गाह्रो पर्छ भन्ने सांकेतिक जानकारी दिएको हुनसक्ने' लेखेका छन्।
'पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिएको हुन सक्छ। अर्को कुरा, जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरूलाई कति अप्ठ्यारो पर्छ थाहा दिएको पनि हुन सक्छ,' ढकालले लेखेका छन्।
हामीले यो घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईसँग कुरा गर्दा उनले गाडीहरू अनधिकृत रूपमा राखिएको देखिएपछि टोली परिचालन गरिएको बताए।
गाडी हटाउन किन ढिला गरियो भन्ने प्रश्नमा उनले भने, 'सूचना प्राप्त हुनासाथ सबै मिडिया हाउसमा टोली खटायौं। टोलीले सुरूमा ती गाडीमा विस्फोटक पदार्थ छ कि छैन भनेर जाँच गर्यो। शंकास्पद वस्तु वा विस्फोटक पदार्थ फेला नपरेपछि क्रेनमार्फत् गाडीलाई बग्गीखाना पठाएका छौं।'
थप कारबाही ट्राफिक प्रहरी कार्यालयले गर्ने उनले बताए।
उनका अनुसार अहिलेसम्म मिडिया हाउस अगाडि राखिएका सबै गाडी मद्दतले ट्राफिक प्रहरी कार्यालय पुर्याइएको छ।