त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगु सोरू गाउँपालिका-१ का गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिएको छ।
सोमबार गणेशका दाजु मदन नेपालीले ज्यान सम्बन्धी कसूरमा जाहेरी दिएका हुन्।
उक्त उजुरी दर्ता भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
'उहाँहरूले उजुरी दिनु भएको छ। हामीले दर्ता गरेका छौं। अब हामी अनुसन्धान गर्छौं,' उनले भने।
असार २५ गते राहदानी विभाग अगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लिल लक लगाएका थिए। त्यसपछि उनले सडकमै आत्मदाह प्रयास गरेका उनको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो।
उनको मृत्युपछि आइतबार सरकार र उनको परिवारबीच ९ बुँदे सहमति भएको छ।