बाल संगठनमा आर्थिक हिनामिना गरी ठगेको आरोपमा आठ जनाविरूद्ध मुद्दा दायर गरेको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालत काठमाडौंमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरको मुद्दा दायर गरेको हो।
नेपाल बाल संगठन र बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने निर्णय गरेको थियो। गत चैत २५ गते भएको उक्त निर्णयको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धानको जिम्मा पाएको थियो।
अनुसन्धान गरी सिआइबीले तीन जनालाई पक्राउ गरेको थियो। पाँच जना भने फरार कायम छन्।
बालमन्दिरकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, तत्कालीन सचिव ५१ वर्षका राजेन्द्रकुमार श्रेष्ठ र तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य पक्राउ परेका हुन्।
भोजपुर कार्यसमितिका तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य र तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार फरार छन्।
उनीहरूले बाल मन्दिरमा आश्रित रहेका बालबालिकाको सर्वोपरी हितमा खर्च गर्नुपर्ने रकम बेइमानीपूर्वक आर्थिक लाभ लिएको आरोप छ।
प्रहरीको अनुसन्धानका अनुसार आशाबाट १२ हजार रुपैयाँ, दिपकबाट ५० हजार रुपैयाँ, युरीबाट १५ हजार, प्रयागराजबाट १० हजार, भगवानबाट ३० हजार, राजेन्द्रबाट २ लाख २५ हजार, राजेन्द्रबाट गाडी खरिद गरे बापतको रकम, रामकृष्णबाट १५ हजार, रामकृष्णबाट १५ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको हो। उनीहरूबाट उक्त रकमको साँवा र अहिलेसम्मको ब्याजसमेत असुली गर्न माग गरेको छ।