चितवनको भरतपुर महानगरपालिका–१६ स्थित गणेश मन्दिर नजिक रहेको रोयल फार्मासिटी औषधि फ्याक्ट्रीमा एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार अपराह्न करिब ३:२० बजे फ्याक्ट्रीको दोस्रो तल्लामा एसीको कुलिङ ग्यास भर्ने क्रममा Kalton 410A नामक ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटमा एसीको ग्यास भर्न बाहिरबाट आएका पर्साको पर्सागढी गाउँपालिका–५ निवासी २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, भरतपुर महानगरपालिका–१२ निवासी ३० वर्षीय प्रमोद कोइराला पनि घटनामा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा अपराह्न ४:०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाको कारण र विस्फोटको प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।