रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिलाको शव भेटिएको छ।
सुनछहरी गाउँपालिका–१ का सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएका स्थानीय दुई महिला पहिरोले पुरिएर बेपत्ता थिए।
इलाका प्रहरी कार्यालय पोवाङबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुबिन शाहको टोलीले पहिरोले पुरिएका दुई महिलाको शव निकालेको हो।
पहिरोमा पुरिनेमा स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगरको शव रहेको छ। पहिरोमा परेर ४ वटा बाख्रा र २ वटा गाई समेत मरेका छन्।
उक्त घटनामा परी ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन्। पहिरोबाट जीवितै उद्धार गरिएका उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ। उनलाई उपचारका लागि स्थानीय सेरम स्वास्थ्य चौकीतर्फ पठाइएको प्रहरीले जनाएको छ।
स्थानीयबासीका अनुसार घटना हुँदा सो क्षेत्रमा ३ जना मात्र गोठाला गएका थिए।
पहिरोमा परेका अन्य चौपायाहरूको खोजतलास तथा उद्धार कार्य जारी रहेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।