सिरहामा बिहीबार भएको तनावका क्रममा घाइते भएका प्रहरी कर्मचारीलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
बिहीबार दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन खटिएका प्रहरी चौकी ठाडी दरबन्दी भई लहानमा कार्यरत प्रहरी सहायक हवलदार नारद परियारलाई थप उपचारका लागि विराटनगर पठाइएको हो।
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले प्रहरी सहायक हवलदार परियारको शरीरमा चोट लागेपछि युनिफर्म फेर्ने क्रममा दाहिने खुट्टाको घुँडामुनि गोली लागेको जस्तो देखिएको बताए।
उनलाई प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचार पश्चात थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको हो।
उनको अवस्था सामान्य रहेको पनि डिआइजी काफ्लेले जानकारी दिए।
सिरहामा बिहीबार गोलबजार र लहानमा तनाव उत्पन्न हुँदा अन्दाजी १९ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको थियो।