पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ४ जनाको शव फेला परेको छ।
आरोहण व्यवस्थापक सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले ४ जनाको शव फेला परेको भन्ने सूचना प्राप्त भएको जानकारी दिए।
'ग्राउन्डमा बुझ्दा ४ जनाको शव भेटियो भन्ने सूचना प्राप्त भएको छ,' उनले सेतोपाटीसँग भने, 'उनीहरूको पहिचान हुन भने बाँकी छ।'
गुरागाईंका अनुसार ६ हजार ७ सय मिटर हाराहारीको उचाइमा पुगेपछि आरोहीहरू हिमपहिरोमा परेका थिए।
हिमपहिरोमा परेर सम्पर्कविहीन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा 'निम्सदाइ' सहित १० जना आरोही बेपत्ता भएका थिए। उनीहरूको खोजी क्रममा चार जनाको शव फेला परेको हो।
बेपत्ता भएका १० जना आरोहीमध्ये ६ जना नेपाली छन्। उनीहरू गोरखा, दोलखा र संखुवासभाका हुन्।
'उहाँहरू सबै उच्च अनुभव प्राप्त आरोहीहरू नै हुनुहुन्थ्यो,' गुरागाईंले भने।
पर्यटन मन्त्री गनेश पौडेलले पनि चार जनाको शव फेला परेको पुष्टी गरेका छन्। उनीहरूको परिचय नखुलेको पनि उनले बताएका छन्।
'हेलिकप्टर र उद्धार टोलीहरू खोजीकार्यमा खटिएका छन्,' उनले लेखेका छन्,' पाकिस्तानी अधिकारीहरूसँग हामी नियमित सम्पर्कमा छौं।'
आरोहीहरू नधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल साखी (पाकिस्तान), वाङ जोङ (चीन), मालोरी गाइस (अमेरिका), निर्मल पुर्जा 'निम्स दाई' (नेपाल), पुरबहादुर गुरूङ 'युक्ता' (नेपाल), किली पेम्बा शेर्पा 'किलु' (नेपाल), निमा शेर्पा (नेपाल), नवाङ थिन्डु शेर्पा (नेपाल) र ग्यालु शेर्पा (नेपाल) बेपत्ता रहेको सेभेन समिटले जनाएको छ।
पाकिस्तानी सेनाका दुईवटा हेलिकप्टर शनिबार बिहान उद्धारकर्मी र विशेष उपकरणसहित घटनास्थलतर्फ पठाइएको छ।
बिबिसीका अनुसार पाकिस्तानको अल्पाइन क्लबले सेनाको हेलिकप्टरले स्थलमार्गबाट भइरहेको खोजी तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गरिरहेको जनाएको छ।
उच्च हिमाली क्षेत्रमा उद्धार कार्य निकै कठिन भएकाले अतिरिक्त जनशक्ति र विशेष उपकरण परिचालन गरिएको क्लबले जनाएको छ।
कराकोरम क्षेत्रमा रहेका अन्य हिमालका आरोही पनि उद्धार अभियानमा खटिएका छन्। के–टु के–थ्री मा रहेका आरोहीहरू आफ्नो शिविरबाट तल झरेर खोजी अभियानमा सहभागी भइरहेको बताएका छन्।
त्यस्तै, व्यावसायिक आरोहण कम्पनी इम्याजिन नेपालका सदस्यहरू पनि उद्धारमा खटिएका छन्।
८ हजार ४७ मिटर अग्लो ब्रोड पिक कराकोरम पर्वत शृंखलामा अवस्थित विश्वको १२औं अग्लो हिमाल हो। यो पर्वत कठिन आरोहणका लागि परिचित छ। यही हिमालमा शुक्रबार हिमपहिरो गएपछि निर्मल पुर्जाको टोली सम्पर्कविहीन भएको हो।
निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। ती १४ हिमालमध्ये ब्रोड पिक पनि एक हो।
पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पनि बेपत्ता आरोहीहरूको खोजीका लागि दूतावासमार्फत पाकिस्तान सरकारसँग समन्वय भइरहेको बताएको छ।