बाजुरा प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट दुई वर्ष कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पञ्चदेवल विनायक नगरपालिका–५ का ४० वर्षीय भोजराज बुढा पक्राउ गरिएको प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।
बुढालाई बिहीबार बेलुकी बडीमालिका नगरपालिका–८ बाउलीस्थित डेराको कोठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बुढाबाट बिगो २० लाख ७० हजार रुपैयाँ भराउने ठहरसहित अदालतले फैसला सुनाएको थियो।
प्रतिवादी बुढाले बिगो बापतको रकम तिर्न नसकेपछि तोकिएको बिगो बापत २ वर्ष कैदमा राखेर फैसला कार्यान्वयन गर्न जिल्ला अदालत अछामले आदेश गरेको थियो।
गत वर्ष माघ १० गते अछाम जिल्ला अदालतले पक्राउ आदेश दिएको थियो। जिल्ला प्रहरी कार्यालय अछामले बुढालाई पक्राउ गरी दाखिला गरिदिन बाजुरा प्रहरीलाई साउन १२ गते पत्राचार गरेको थियो। त्यसपछि बाजुरा प्रहरीले बुढाको खोजी थालेको थियो।
पक्राउ पछि बुढालाई तोकिएको सजाय भुक्तानी गर्न अछाम पठाइएको बाजुरा प्रहरीले जनाएको छ।