गत साता काठमाडौं–३ का रास्वपा सांसद राजुनाथ पाण्डेसहितको टोली बुलडोजर लिएर गोकर्णेश्वर मन्दिर क्षेत्र पुगेर पहिले राजनिकुञ्ज भनिने गोकर्ण वनको पश्चिमी पर्खाल भत्काउन अघि सर्यो।
त्यसपछि कैयौंलाई लाग्यो— अब बागमती करिडोरको काम द्रुत गतिमा अघि बढ्छ।
पाण्डेसँगै त्यहाँ काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त सुरज शाक्य लगायत अन्य सरोकारवाला पनि उपस्थित थिए।
गोकर्णको वनको पर्खाल छेउ सांसद पाण्डे र नेपाली सेनाका क्याप्टेनबीच केहीबेर भनाभनपछि बागमती किनार छेउको करिब ५० मिटर पर्खाल भत्किएको एक साता बितिसकेको छ।
त्यसयता त्यहाँ मोटरसाइकलका लागि बाटो छेक्ने र सैनिक क्षेत्रमा केही तारबार लगाउने बाहेक सडक निर्माणको कुनै काम हुन सकेको छैन।
बुधबार साँझ म गोकर्णेश्वरको बागमती गल्छी पारि रहेको घटनास्थल पुग्दा पर्खालका इँटा असरल्ल छरिएका थिए। वनभित्रपट्टी केही सैनिक पहरा दिँदै थिए।
उदांगो र पर्खालविहीन वनभित्रको बाटोबाट मानिसको आवतजावत जारी थियो। सैनिक क्षेत्रमा छोटो तारबार बाहेक भित्रबाट हरिण, बाँदर, बँदेलजस्ता जन्तु रोक्न कुनै नयाँ छेकबार थिएन।
गत साता बुलडोजर चलाएर भत्काइएको गोकर्णेश्वरको बाँध माथिको खुला क्षेत्र। तस्बिर: सुरेन्द्र फुयाल
पर्खाल भत्किएपछि नेपाली सेनाको आवास रहेको गोकर्णको वन भित्रको बाटोबाट हिँड्दै पदयात्री। तस्बिर: सुरेन्द्र फुयाल
अब प्रश्न उठ्छ— एक सातासम्म पर्खाल भत्काइएको ठाउँमा नयाँ छेकबार बन्न कठिन हुने सहरभित्र ४४ किलोमिटर लामो बागमती करिडोर सडक निर्माण गर्ने पुरानो योजना कहिले पूरा होला?
करिडोर सडकको प्रगति यस्तो छ — योजना बनेको २५ वर्षमा बागमतीको दुवै किनारै किनार तन्किने करिडोरको अझै आधा पनि बनिसकेको छैन।
बागमती र अन्य नदी किनारमा करिडोर सडक निर्माणको जिम्मेवारी लिएको अधिकार सम्पन्न 'बागमती सभ्यता एकीकृत विकास समिति' का अनुसार बागमतीका दुवै किनार गरेर अहिलेसम्म १९ किलोमिटर सडक बनेको छ।
उपत्यकाका सबै नदी किनार गरेर अहिलेसम्म जम्मा ३४ किलोमिटर करिडोर सडक बनेको छ।
अधिकारीहरूका अनुसार बागमती करिडोरमा सडक बनाउने दिशामा गोकर्णेश्वरमा गत साता छताछुल्ल भएजस्तै थुप्रै बाधा अड्चनहरू छन्। समितिका इन्जिनियर रामबाबु शाहको भनाइमा भित्री सडकमा मात्रै होइन, सहर बाहिर पनि थुप्रै बाधाअड्चन छन्। थुप्रै काम अव्यवस्थित बसोबासी, प्राचीन मन्दिर र निजी जग्गाको मुआब्जा दिनुपर्ने जस्ता कारण रोकिएका छन्।
बाघद्वार जोड्ने सपना
गोकर्णेश्वरदेखि तल अत्तरखेल र माकलबारी क्षेत्रमा दुवै किनारमा बागमती करिडोर सडक बनेपछि धेरैको यात्रा सहज हुन थालेको छ। तस्बिर: सुरेन्द्र फुयाल

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसालका अनुसार गोकर्ण वनको पर्खाल भत्किएपछि त्यस क्षेत्रमा सडकको चौडाइ २० मिटर कायम गर्दै करिडोर सडक निर्माण अघि बढाउने योजना छ। काम छिट्टै सुरू गर्ने योजना छ।
तर बायाँतिर पुरानो गोकर्ण बजार, बस्ती र ऐतिहासिक गोकर्णेश्वर मन्दिर रहेकाले त्यहाँ करिडोर सडक बन्न पाउँदैन।
'पर्खाल भत्काइएको स्थानबाट अब करिडोर सडक नदीको दायाँ किनारै किनार करिब ४ किलोमिटर माथि पर्ने उत्तरबाहिनी धामतर्फ अघि बढ्छ। त्यसका लागि पालिकाले बजेट पनि २५ लाख रूपैयाँ बजेट छुट्ट्याइसकेको छ,' मेयर रिसालले भने।
त्यसलाई पूर्णता दिन एसियाली विकास बैंकबाट प्राप्त ऋणको रकम समेत निकासा भइसकेको उनले बताए।
'तर त्यहाँदेखि सुन्दरीजल पुग्ने करिडोर सडक निर्माणका लागि थुप्रै निजी खेतहरू किनेर मुआब्जा दिनुपर्ने हुन्छ। त्यसका लागि अर्बौं रूपैयाँ बजेट चाहिन्छ,' उनले भने।
सुन्दरीजलदेखि अझै उत्तर लागेपछि बागमती करिडोर सडक योजनाले अझै ठूलो चुनौती सामना गर्नुपर्ने देखिन्छ।
कारण — त्यहाँबाट सुरू हुन्छ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र।
केही माथि रहेका मूलखर्क र ओख्रेनी गाउँ जोड्ने सडक यसअघि नै बनिसकेका छन्। तर ती सडक बागमती करिडोर अन्तर्गत बनेका होइनन्।
केही वर्षअघि राष्ट्रिय निकुञ्जलाई थाहै नदिई ओख्नेनीदेखि बागद्वार जाने सडक खन्न अगुवाइ गरेका गोकर्णेश्वर–१ का वडाअध्यक्षलाई निकुञ्जले पक्राउ गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन बर्खिलाफ कसुर गरेको अभियोग लगाएको थियो।
त्यसैले भविष्यमा बागमती करिडोर सडक निकुञ्जभित्र तन्काउने योजना अघि बढाउनुअघि सरकारी निकायहरुले ठूलै स्तरको समन्वय र समझदारी गर्नु पर्ने देखिन्छ।
गोकर्णदेखि तल्लो तटमा प्रगति
नेपाल सरकारले बनाएको बागमती कार्ययोजनाले बागमतीसहित ५७ वटा सहायक नदी क्षेत्रको व्यवस्थापन गर्ने योजना बनाएको छ। तस्बिर: बागमती कार्ययोजनामा छापिएको नक्सा
गोकर्णेश्वरदेखि तल्लो तटमा भने अधिकांश स्थानमा बागमती करिडोर सडक निर्माणमा हालैका वर्षमा उल्लेख्य प्रगति भइसकेको छ। मन्दिर, पाटी पौवा र घाटले भरिएको पशुपति क्षेत्र, गौशाला तिलगंगा र शंखमुल र त्रिपुरेश्वर क्षेत्रका केही अवरोध बाहेक बागमती करिडोर सडक दुवै किनारै किनार बल्खुसम्मै पुगिसकेको छ।
त्यसको अर्थ धेरै गोकर्णबासी दुई चार ठाउँमा करिडोरबाट बाहरिँदै फेरि नदी किनार पछ्याउँदै बल्खुहुँदै किर्तीपुर पुग्न सक्छन्।
त्यसैगरी धेरै कोटेश्वरबासी मनोहरा नदी किनारै किनार बालकुमारी च्यासल हुँदै बल्खु पुग्न सक्छन्। कपनबासी रूद्रमती हुँदै ललितपुर, त्रिपुरेश्वर, वा बालाजु वा तारकेश्वरबासी बालाजु हुँदै टेकु पुग्न सक्छन्। बल्खुबाट करिडोर सडक निर्माणको काम सुन्दरीघाटतर्फ अघि बढिसकेको भए पनि त्यो पूरा हुन अझै केही वर्ष लाग्ने देखिन्छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर रामबाबु शाहका अनुसार यो आर्थिक वर्षमा समितिले झन्डै ३ अर्ब रूपैयाँ बजेट पाएको छ।
'त्यो बजेटको सानो हिस्सा मात्र सडकका लागि छुट्ट्याइन्छ किनभने हामीले सडक अगाडी तटबन्ध र ढल निकासको पूर्वाधार बनाउनुपर्छ,' उनले भने।
तर ७२ सालको भूकम्पको वार्षिकीकै दिन नयाँ सरकारले बागमती किनार र अन्यत्रका सुकुम्बासी हटाउने अभियान थालेपछि समितिलाई काम गर्न सहज भएको छ।
त्यस दिन तिलगंगा र शंखमुल क्षेत्रमा मात्रै करिब ७०० अव्यवस्थित बसोबासीका घरटहरा हटाउने काम थालिएको थियो। अहिले ती स्थान खुला भएपछि समितिले त्यहाँ आफ्ना काम थालिसकेको छ।
'तर सडक बनिसक्न कम्तीमा एक वर्ष लाग्न सक्छ,' शाहले भने।
यो पनि पढ्नुस्- धाप ड्यामको मुन्तिर झनै ठूलो जलाशय निर्माणको तयारी तीव्र
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal