कोशी र मधेस प्रदेशमा भएको धार्मिक द्वन्द्वबारे अध्ययन गर्न गठित छानबिन समितिहरूले आफ्नो प्रतिवेदन बुझाएका छन्।
सुनसरी, सिरहा र धनुषामा फैलिएको द्वन्द्वका क्रममा भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो। सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा तीन जना र सिरहाको गोलबजारमा एक जनाको ज्यान गएको थियो।
गृह मन्त्रालयले सुनसरी घटना छानबिनका लागि सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा र सिरहा घटनाका लागि सहसचिव पुष्पराज शाहीको नेतृत्वमा समिति गठन गरेको थियो। दुवै समितिले गृहमन्त्री सुधन गुरूङलाई प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन अनुसार सुनसरीको कप्तानगन्जमा भएको विवाद क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएको खुलेको छ। प्रहरीको गोली लागेर जयप्रकाश मेहता, ओमप्रकाश मेहता र रवीन्द्रकुमार मेहताको ज्यान गएको थियो। त्यस्तै, सिरहामा गणेश यादवको मृत्यु भएको थियो।
यी घटनामा कसले गोली चलायो भन्नेबारे गृह प्रशासनले सार्वजनिक रूपमा केही जानकारी दिएको थिएन। तर छानबिन समितिले सुनसरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सिरहामा प्रहरीकै गोली लागेर मानवीय क्षति भएको निष्कर्ष निकालेको छ।
सिरहा घटना छानबिन समितिका संयोजक पुष्पराज शाहीले सोमबार गृहमन्त्री गुरूङलाई प्रतिवेदन बुझाएको पुष्टि गरे। प्रतिवेदनका विषयबारे भने बोल्न नमिल्ने उनले बताए।
'छानबिन सकेर हामीले मन्त्रीज्यूलाई प्रतिवेदन बुझाइसकेका छौं। त्यसभित्रका कुरा अहिले नै भन्न मिल्दैन,' उनले भने।
गृह मन्त्रालय स्रोतका अनुसार अहिले दुवै प्रतिवेदन अध्ययन भइरहेको छ। अध्ययन सकिएपछि कारबाही प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे निर्णय हुनेछ।
'प्रतिवेदन प्राप्त भएको छ, अध्ययन जारी छ। अध्ययन सकिएपछि सिफारिस गरिएका कारबाहीबारे छलफल हुन्छ,' स्रोतले भन्यो।
'सुरक्षा निकायको कमजोरी'
समितिका एक सदस्यका अनुसार सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेल र प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकलाई सचेत गराउन सिफारिस गरिएको छ। गोली चलाउने अन्य सुरक्षाकर्मीका हकमा कानुन बमोजिम कारबाही गर्न भनिएको छ।
'गोली प्रहरीले नै चलाएको देखिन्छ, पेस्तोलको गोली लागेको छ। गोली चलाउने केहीलाई कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरिएको छ,' स्रोतले भन्यो, 'घुसपैठ भएर गोली चल्यो कि भन्ने आशंका थियो, तर अध्ययनमा त्यस्तो देखिएन।'
प्रतिवेदनमा गोली चलाउने प्रहरी अधिकारीहरूको नाम नै किटान गरेर कारबाही सिफारिस गरिएको स्रोतले जानकारी दियो।
सिरहामा गणेश यादवको गोली लागेर मृत्यु भएपछि आन्दोलन झनै उग्र बनेको थियो। स्थिति नियन्त्रणबाहिर जाँदा मुस्लिम समुदायका व्यावसायिक भवन, घर, मस्जिद र पसलहरूमा आगजनी तथा तोडफोड भएको थियो। गोली नचलेको भए यति ठूलो क्षति नै नहुने समितिको निष्कर्ष छ।
'त्यहाँ गोली नचलेको भए त्यति धेरै क्षति हुने अवस्था थिएन। भीड पनि गोली नै चलाउनुपर्ने खालको थिएन। तर गोली चलाइयो, जसले आगजनी र तोडफोडका घटना बढे,' स्रोतले भन्यो।
५० भन्दा बढी सुझाव र नीतिगत सुधारको सिफारिस
समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन ५० भन्दा बढी सुझाव दिएको छ। विशेष गरी भीड नियन्त्रणमा खटिने प्रहरी अधिकारीहरूलाई प्राणघातक हतियार दिन नहुने र रबरको गोली प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ।
'मधेस प्रदेशमा एउटा मात्र पानीको फोहरा (वाटर क्यानन) हान्ने गाडी छ। अरू आवश्यक उपकरणहरूकै अभाव छ, हामीले ती कमजोरी औंल्याएका छौं,' समितिका एक सदस्यले भने, 'भीड नियन्त्रणमा प्राणघातक हतियार प्रयोग नगर्न, रबरको गोली प्रयोग गर्न र गोली चलाउने कमान्डर वा सुरक्षाकर्मीले 'बडी क्यामेरा' अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरेका छौं।'
कारबाहीको डरले प्रहरी अधिकारीहरूले सुरूमा गोली चलाएको तथ्य स्वीकार नगरेको ती सदस्यको भनाइ छ।
'गोली चलाउँदा कारबाही भोग्नुपर्ने त्रासका कारण सुरूमा स्वीकार नगरेजस्तो देखियो। घटनास्थलमा चलेका गोलीका खोका समेत गायब पारिएको अवस्था थियो,' उनले भने।
त्यस्तै, गृह मन्त्रालय स्रोतका अनुसार समितिले 'स्थानीय प्रशासन ऐन, २०२८' मा नीतिगत सुधार गर्नुपर्ने सुझाव पनि दिएको छ।
यो ऐनले शान्ति सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिए पनि भीड नियन्त्रण क्रममा सिडिओ आफै फिल्डमा नखटिँदा फिल्डको प्रहरी र सिडिओबीच वस्तुस्थितिको बुझाइमा अन्तर देखिने गरेको छ। बेलाबेला गोली चल्ने घटनामा सिडिओले जिम्मेवारी नै नलिने अवस्थासमेत सिर्जना हुने गरेको छ।
यही व्यावहारिक समस्या हेरेर नीतिगत सुधार गर्न समितिले जोड दिएको छ।
'सुरक्षाकर्मीलाई आवश्यक प्राविधिक उपकरण उपलब्ध गराउने, ड्रोनबाट निगरानी गर्ने, दोषी पत्ता लगाउने र स्थानीय प्रशासन ऐनमा परिमार्जन गर्नेसम्मका विषय प्रतिवेदनमा समेटिएका छन्,' स्रोतले भन्यो।
नेपाल प्रहरीको भनाइ
प्रहरीले नै गोली चलाएको निष्कर्षबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) अबिनारायण काफ्लेसँग सोध्दा उनले आधिकारिक रूपमा समितिको प्रतिवेदन प्राप्त भइनसकेको बताए।
'भीड नियन्त्रणको परिस्थितिमा के-कस्तो भयो भन्ने तत्कालै यकिन गरेर भन्न सकिँदैन। प्रहरी विभिन्न युनिटबाट खटिएका हुन्छन्। नियन्त्रणमा लिन हावामा फायर (हवाई फायर) गरिएका प्रतिवेदनहरू आएका थिए। तर त्यसैबीच गोली लागेको हो वा होइन भन्ने तत्कालै यकिन गर्न गाह्रो हुन्छ,' उनले भने।
यस्ता संवेदनशील घटनामा तथ्य यकिन नभई बोल्दा गलत सन्देश जाने भएकाले तत्कालै आधिकारिक पुष्टि नगरिएको उनले बताए।
साथै, घटना क्रममा एक जना प्रहरीलाई पनि गोली लागेको भनिए पनि पछि अनुसन्धान गर्दा खोका मात्र भेटिएको उनले जानकारी दिए।