नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले फुर्केखोलालगायत बगेका पुलहरू तत्काल निर्माण गर्नुपर्ने बताएकी छन्।
सडक विभागका महानिर्देशक विजय जैशीलाई भेटेर उनले फुर्केखोलालगायत विभिन्न ठाउँका पुल निर्माणमा ध्यानाकर्षण गराएकी हुन्।
धादिङ सदरमुकामलाई पृथ्वी राजमार्गमा जोड्ने फुर्केखोला पुल भदौ १० को त्रिशूलीको बाढीले बगाएको थियो।
फुर्के खोलामा बेलिबृज राख्न पनि उनले आग्रह गरेकी छन्।
‘फुर्के खोलामा बेलिवृज र धादिङवेशी आउजाउ गर्न तत्काल वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्, ‘यसबारे सडक विभागका महानिर्देशकलाई भेटेर आग्रह गरेको छु।’
सडक विभागले फुर्केखोलामा तत्काल पुल निर्माण सम्भव नरहेको बताए पछि उनी महानिर्देशक भेट्न पुगेकी थिइन्। ‘क्षति पुगेका अन्य पुलहरू पनि पुनर्निर्माण गर्नुपर्छ,’ उनले भनिन्।