सुस्तामा नेपाल भारत बीच सिमानाको रूपमा मानिँदै आएको रूखलाई बाढीले बगाएको छ।
भोटेकोशीमा आएको बाढीपछि निरन्तर तीव्र रूपमा कटान गर्दै नारायणीको बाढीले बुधबार राति सीमा स्तम्भको रूपमा मानिँदै आएको सिमलको रूख पनि कटान गरेर बगाएको हो।
भारतसँग सीमा जोडिएको सुस्ताको पूर्व र दक्षिण तर्फको २४ किलोमिटर क्षेत्रमा सिमाना छुट्टाउने स्थायी कुनै स्तम्भ वा पिलर छैन।
भारत र नेपालका सुरक्षा निकायले पूर्व उत्तरतर्फ रहेको सिमलको रूखलाई अनौपचारिक रूपमै भए पनि सीमा स्तम्भको रूपमा मान्दै आएका थिए। त्यस्तै दक्षिणतर्फ सानो बाटोलाई सिमाना मानिएको छ।
सुस्तालाई पूर्व, उत्तर र पश्चिमतर्फ नारायणी नदीले घेरेको छ भने पूर्व र दक्षिणतर्फको सिमाना भारतको विहारसँग जोडिएको छ। यही भौगोलिक अवस्थाले सुस्ताको भूमि नारायणीको कटान, डुबान र भारतीयको अतिक्रमणको चपेटामा परिरहेको छ।
स्थानीय मुन्सीकुमार हरिजनका अनुसार दुई देशको सिमाना मानिएको सिमलको रूख गत असारसम्म नारायणी नदीदेखि ५ सय मिटरको दुरीमा रहेको थियो। तर साउनदेखि सुरू भएको नारायणीको कटान भोटेकोशीमा आएको बाढीपछि कटान तीव्र रूपमा बढ्दै गएपछि बुधबार राति सिमलको रूख पनि बगाइदिएको हो।
सुस्ता बचाउ अभियानका अध्यक्ष समेत रहेका वडा सदस्य आदम खाँ का अनुसार विक्रम सम्वत २०१७ सालमा नारायणीमा आएको बाढीले सुस्ताका विभिन्न ११ वटा बस्ती कटान गरेको थियो।
त्यसपछि २०३४ सालमा पनि नारायणी नदीमा भीषण बाढी र डुबान भएपछि सुस्ताका बासिन्दालाई नारायणीवारि त्रिवेणी आसपासका साहुमारा, केउलानी, कुँडिया लगायतका ठाउँमा स्थानान्तरण गरिएका थिए।
पछिल्ला वर्षहरूमा नारायणीको बहाव फेरि सुस्ताको थारू टोलतर्फ मोडिएको छ। वडा सदस्य खाँ ले पछिल्लो डेढ महिनामै नारायणी नदी ५ सय मिटर पश्चिमतर्फ मोडिएर करिब १० विगाह नेपाली भूमि कटान गरेको बताए।
‘यसअघि सीमा स्तम्भ नभएको अवस्थामा दुवै तर्फका सुरक्षा निकायले सिमलको रूखलाई सीमा मानेको अवस्था थियो, बुधवार राति १२ बजे आएको बाढीले त्यही रूख पनि कटान गरेर लगेपछि सुस्तामा कुनै पनि सीमाको चिन्ह छैन,’ खाँ ले भने।
नारायणीको कटान बढ्दै गएपछि सुस्ताको थारू टोल डुबानमा परेको छ। खाँका अनुसार थारू टोल, सैनिक टोल, बड्की टोल, क्याम्प टोल सम्मका घरहरू डुबानमा परेका छन्।
फुस र खरले बारेर बनाएका कच्ची घरहरू डुबानमा परेपछि स्थानीयले घरभित्रका सामानहरू विपद् व्यवस्थापन समितिले निर्माण गरेको सामुदायिक भवनमा लगेर राखेको उनले बताए। सामानहरूसँगै मानिसहरू पनि सामुदायिक भवनमा बस्ने गरेका छन्। कतिपय व्यक्तिहरू भने सामान सामुदायिक भवनमा राखेर आफूहरू नारायणी पश्चिमको कुँडिया, केउलानी लगायतका क्षेत्रमा आफन्तकहाँ बस्न थालेका छन्।
नारायणी नदीले घेरेको जमिनमा समयमै पक्की बाँध लगाउन नसक्दा हरेक वर्ष सुस्ताको जमिन कटान हुँदै आएको छ। यसअघि नारायणी नदी किनारको एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गरिएको भए पनि त्यसैसँग जोडिएको पूर्वतर्फ १३२ मिटर क्षेत्रमा भने भारतीय एसएसबीको अवरोधका कारण तटबन्ध निर्माण हुन सकेको छैन।
पक्की तटबन्ध हुन नभएपछि स्थानीयले लगाएको कच्ची बाँध पनि एसएसबीले भत्काइदिएपछि यस वर्ष बाढी बस्तीमा पसेको हो।
स्थानीयले साउन १५ गतेदेखि बोरामा बालुवा भरेर अस्थायी बाँध निर्माण गरिरहँदा बाढीले बाँध भत्काउँदै जमिन कटान गरेको हो। अहिले त्यही कच्ची बाँध भत्काएको क्षेत्रबाटै जमिन कटान भइरहेको खाँको भनाइ छ।