नेपाल-चीन सीमाना नजिकैको लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा ठूलो भौतिक क्षति भएको छ।
भदौ १० गते बुधबार बिहान साढे ८ बजे आएको बाढीले १५ सयभन्दा बढी निजी घरहरूमा क्षति पुर्याएको हो।
नेपाल विद्युत प्राधिकरणको मिटर वितरणको तथ्याङ्कलाई आधार मान्दा १५ सय घरधुरी बाढीबाट प्रभावित तथा क्षतिग्रस्त बनेका जिल्ला प्रशासन कार्यालय रसुवाको सहायक सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार बाढीको मुख्य प्रभाव सर्वसाधारणको बसोबासमा मात्र सीमित नरहेर सार्वजनिक तथा शैक्षिक पूर्वाधारहरूमा समेत पुगेको छ।
बाढीका कारण २८ वटा सरकारी तथा सार्वजनिक निकायका भवनहरूमा क्षति पुगेको छ भने ८ वटा सामुदायिक विद्यालयका संरचनाहरू प्रभावित भएका छन्।
स्थानीय व्यापारिक तथा वित्तीय क्षेत्रमा पनि बाढीले ठूलो धक्का पुर्याएको छ।
बाढीका कारण १४ वटा बैंक तथा वित्तीय संस्थाका कार्यालयहरू र १ वटा पेट्रोल पम्पमा क्षति पुगेको छ। सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिका-२ को रसुवागढी, घट्टेखोला, टिमुरे, तातोपानीको एरियामा धेरै पुगेको छ।
सोही गाउँपालिकाको-३ को लिङलिङ, मेदाङपुदुङ, रूँगा, वडा-५ को स्याफ्रुवेशी, सानो भार्खुमा सबैभन्दा धेरै क्षति पुगेको छ।
आमाछोदिङमो गाउँपालिका वडा-१ को हाकुवेशी, कालिका गाउँपालिका-१ को गुम्चेत, उत्तरगया गाउँपालिका-१ को मैलुङ, सल्लेटार, सिम्लेपुछार र सोही गाउँपालिकाको वडा-५ को उपलल्लो पहिरे, तत्लो पहिरे, खाल्टे, नौबिसे, कैदलेटार, वेत्रावतीमा बाढीले धेरै क्षति पुर्याएको छ।
सडक तथा पुलहरूमा क्षति पुगेका कारण प्रभावित क्षेत्रहरूमा उद्धार कार्य र क्षतिको अन्तिम विवरण संकलन गर्न कठिनाइ भइरहेको छ।