भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत रकम संकलन गर्ने भन्दै आफ्नै बैंक खातामा रकम जम्मा गर्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसी रहेको एसपी दानबहादुर थापाले जानकारी दिए।
प्रहरीका अनुसार केसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिने भन्दै विभिन्न व्यक्तिलाई आफ्नै बैंक खातामा पैसा जम्मा गर्न लगाउने गरेको सूचना प्राप्त भएको थियो।
सोही सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई भदौ १७ गते साँझ कलंकीबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीलाई समेत अभद्र व्यवहार गरेको जनाएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ७ दिनको म्याद थप गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।