भदौ ९ गते साँझ फोनमा बुबासँग कुरा गर्दा सृष्टि बास्तोलालाई भोलिपल्ट के हुँदैछ भन्ने कुनै संकेत थिएन।
काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ पढिरहेकी पोखरा–५ मालेपाटनकी २२ वर्षीया सृष्टि पोखराबाट भोटेकोशी पुगेकी थिइन्—पढाइको एउटा अनिवार्य चरण पूरा गर्न।
३७ मेगावाट क्षमताको अपर त्रिशूली–३ बी जलविद्युत आयोजनामा उनको इन्टर्नसिप चलिरहेको थियो।
फोनको त्यो कुराकानीमा उनले बुवालाई एउटा सामान्य कुरा सुनाइन्। इन्टर्नसिप सकिएपछि असोज २१ गते घर फर्किने।
त्यो नै बुवा माधवप्रसाद बास्तोलाले छोरीको आवाज सुनेको अन्तिम पटक बन्यो।
भोलिपल्ट, भदौ १० गते, भोटेकोशीमा बाढी आयो। त्यसपछि सृष्टिको कुनै खबर छैन। सृष्टि इन्टर्नसिपका लागि आयोजनामा बाढी आउनुभन्दा अघिल्लो दिन भदौ ९ गते त्रिशूली पुगेकी थिइन्।
भोलिपल्ट भदौ १० गते आएको बाढीपछि तीनै जना सम्पर्कविहीन भए।
दिन बित्दै गए। परिवारले फोन गरिरह्यो। कुनै घण्टी बजेन। कुनै सन्देश आएन। सृष्टिका काका पर्ने माधव बास्तोलाका अनुसार उनीहरू आयोजनाको सुरूङ वा मुख्य भवनभित्र हुन सक्ने आशंका गरिएको छ।
‘जलविद्युत आयोजनाको सुरूङ वा मुख्य भवनभित्र सृष्टि हुन सक्ने आशंका गरिएको छ,’ उनले भने, ‘सुरूङ र भवन बगायो कि पुर्यो, अहिलेसम्म अत्तोपत्तो छैन।’
बाढी गएको चौथो दिनसम्म पनि छोरीको कुनै खबर नआएपछि बुवा माधवप्रसाद र ठूलो बुवा विष्णुप्रसाद बास्तोला आफै घटनास्थलतर्फ लागे।
उनीहरू विदुर नगरपालिका–११ को डाँडासम्म पुगे। त्यहाँबाट घटनास्थल हेरे। तर खोज्नुपर्ने छोरी कतै देखिइनन्। बाढी गइसकेर बगर मात्रै देखिन्थ्यो।
‘भोटेकोशीमा महाविपत्ति आएको चौथो दिनसम्म नानीको कुनै अत्तोपत्तो लागेन। त्यसपछि परिवारको मान्छे नै जानुपर्छ भनेर खोज्न गयौं,’ माधवप्रसादले भक्कानिँदै भने, ‘घटना भएको ठाउँ देख्दा एकदम भावविह्वल भयौं। अञ्जुलीमा पानी चढाएर त्यहाँबाट फर्कियौं।’
माधवप्रसादका लागि छोरीको अन्तिम फोन कुराकानी अहिले एउटा सम्झना मात्रै होइन, पर्खाइको एउटा मिति पनि बनेको छ।
असोज २१।
जुन दिन सृष्टिले घर फर्किने भनेकी थिइन्।
‘इन्टर्न सकेर असोज २१ गते घर आउँछु भनेकी थिइन्,’ माधवप्रसादले भने, ‘अब देख्न पनि नपाउने भयौं।’
छोरीले फर्किने मिति तोकेकी थिइन्। अहिले परिवार सृष्टिको एउटा खबरसम्म पर्खिरहेको छ।
सृष्टिका काका माधव बास्तोलाले बाढी गएको यतिका दिन बितिसक्दा पनि जलविद्युत आयोजनामा हराइरहेका मानिसको खोजी पर्याप्त रूपमा हुन सकेको छैन।
‘सरकारले खोजीनीति गर्न सकेको छैन। प्रभावित क्षेत्रमा राज्यको उपस्थिति देखिएन,’ उनले भने, ‘घटना भएको यत्रो दिनसम्म पनि उद्धार हुन सकेन।’
परिवारका लागि भोटेकोशीको बाढी एउटा विपत्ति मात्र बनेर आएन। यसले छोरी सृष्टिलाई कहाँ लग्यो भन्ने प्रश्न पनि छोडेर गयो। जसको उत्तर उनीहरूले अहिलेसम्म पाउन सकेका छैनन्।
भदौ ९ गते साँझ सृष्टिले बुवालाई असोज २१ गते घर फर्किने बताएकी थिइन्। असोज २१ आउन अझै महिना दिन बाँकी छ। तर परिवारका लागि अहिले उनको अवस्था के छ भन्ने खबरको पर्खाइ लामो भइसकेको छ।