रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीबाट भवन, बस्ती, पुल, स्वास्थ्य, शिक्षा, कृषि, ऊर्जा, विद्युत् र दूरसञ्चारलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको बताए।
उनका अनुसार प्रभावित क्षेत्रको प्रारम्भिक पुनःस्थापना अर्थात् ‘अर्ली रिकभरी’का लागि आगामी चार महिनामा ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
उप्रेतीले भने, ‘सबै क्षेत्रमा अहिले ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको डेटा आएको छ। अर्ली रिकभरीका लागि आगामी चार महिनामा ७ अर्ब ९५ करोड रुपैयाँ लाग्ने अनुमान गरेका छौँ।’
उनका अनुसार खोजी, उद्धार तथा राहत वितरणसँगै क्षतिको विवरण संकलन गर्ने काम पनि जारी छ।
बिहीबार मात्रै बाढी प्रभावित उत्तरी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ११४ जनाको उद्धार गरी काठमाडौं ल्याइएको प्राधिकरणले जनाएको छ। त्यस्तै, अन्य प्रभावित क्षेत्रबाट थप २० जनाको पनि उद्धार गरिएको छ।
प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म १ हजार २५९ जनाको शव फेला परेको छ भने ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्।