विश्वकै प्रमुख प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सन ह्वाङले नेपाललाई १ करोड अमेरिकी डलर सहयोग गरेका छन्।
ह्वाङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन्।
यो रकम नेपाली रूपैयाँ १ अर्ब ५२ करोड रूपैयाँभन्दा बढी हुन्छ। व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट उद्धार कोषमा प्राप्त सहयोगमध्ये यो अहिलेसम्मकै ठूलो रकम भएको बताइएको छ।
बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि उक्त रकम सहयोग गरिएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ह्वाङलाई भिडिओ सन्देशमार्फत धन्यवाद दिएका छन्।
विपदको कठिन समयमा नेपाललाई गरेको सहयोगका लागि उनले ह्वाङप्रति आभार व्यक्त गरेका छन्।
एनभिडिया कृत्रिम बुद्धिमत्ता (एआई) का लागि आवश्यक चिप, कम्प्युटिङ प्रणाली तथा सफ्टवेयर बनाउने विश्वकै अग्रणी प्रविधि कम्पनी हो।
कम्पनीका जिपियू तथा अन्य प्रविधि एआई, डाटा सेन्टर, सुपरकम्प्युटिङ र वैज्ञानिक अनुसन्धानमा व्यापक रूपमा प्रयोग हुन्छन्।
ह्वाङ एनभिडियाका संस्थापकसमेत हुन्। उनले सन् १९९३ देखि कम्पनीको नेतृत्व गर्दै आएका छन्।
ह्वाङको सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० अर्ब रूपैयाँभन्दा बढी रकम संकलन भएको छ।