त्रिशूली–३ 'ए' जलविद्युत आयोजनाको सुरूङभित्र फसेकाहरूको उद्धार सुरू भएको छ।
अहिलेसम्म दुई जनाको जीवितै उद्धार भइसकेको छ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू सप्तरीका सञ्जय साह र बालकुमारीका कविर महर्जनको उद्धार भएको हो। उनीहरूलाई प्राथमिक उपचार गरी उप उपचारका लागि हेलिकप्टरमार्फत् छाउनी अस्पताल लगिसकिएको छ।
यहाँ थप मानिसहरूको पनि उद्धार गरिँदैछ। त्यसका लागि उद्धारकर्ताहरू सुरूङभित्र गइसकेका छन्। उद्धारकर्ता नेपाली सेना, सशस्त्र प्रहरी र विद्युत् प्राधिकरणका कर्मचारी हुन्।
गृहमन्त्री सुधन गुरूङको सचिवालयले दिएको जानकारीअनुसार नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित नेपाल सेनाको टोली थप मानिस उद्धारका लागि पावर हाउसतर्फ अघि बढेका छन्।
यहाँ उद्धारका लागि सहज अवस्था भने छैन। सुरूङको करिब ६० मिटरसम्म घिस्रिएर उद्धारकर्ताहरू जाने गरेका छन्। त्यसपछि भने कुप्रिएर हिँड्न मिल्ने ठाउँ रहेको उद्धारकर्ताहरूको भनाइ छ।
सुरूङभित्र पावर हाउसतर्फ अघि बढेका उद्धारकर्ता र बाहिर रहेकाहरूबीच सिधा सञ्चार सम्पर्क हुने अवस्था छैन। वाकीटकीले काम गर्दैन।
सुरूङभित्र फसेकालाई उद्धारकर्ताहरूले ६० मिटरजति घिस्रिएर तान्दै ल्याउनुपर्ने अवस्था छ।
भर्खर थप एक जनाको शव सुरूङभित्रबाट निकालिएको छ।
सुरूङभित्र फसेकाहरूका केही आफन्त तथा स्थानीयहरू लगायत पनि यहाँ भेला भएका छन्। सुरूङभित्रबाट निकालेका व्यक्ति पहिचान गर्न सहज होस् भनेर भेला भएकाहरूलाई हेर्न दिने पनि गरिएको छ।