तुलसीपुरस्थित एउटा सरकारी विद्यालयको जस्ता पाताको छानो शनिबार दिउँसो चलेको हावा हुरीले उडाएर क्षति पुर्याएको छ।
तससीपुर उपमहानगरपालिका– ८ अश्वारास्थित माध्यमिक विद्यालय अश्वाराको विद्यालय भवनको तीन वटा कक्षा कोठाको छाना दिउँसोको हावा हुरीले उडाएर सडकमा पुर्याएको छ।
विद्यालयका प्रधानाध्यापक निमकान्त रेग्मीले तीन वटा कक्षा कोठाको सबै जस्ता पाता हावाहुरीले उडाएर सडकमा पुर्याएको बताए।
एउटा शिशु कक्षा, सांकेतिक भाषा पठन पाठन हुने (कक्षा १ देखि ३ सम्मका) कक्षा कोठा र कक्षा ४ र ५ को संयुक्त रुपमा लगाइएको जस्ता पाता गरी तीन वटा कक्षाकोठाको छानो उडाएको प्रअ रेग्मीले बताए।
फलामका छडमा जडान गरिएका जस्ता पाता सबै हावा हुरीले उखेलेर सडकमा पुर्याए पछि अहिले पानीका बीच ग्रिल कारखानाका मानिस बोलाएर फलामे छडहरु काटेर जस्ता पाता स्याहार्ने काम भइ रहेको प्रअ रेग्मीले जानकारी दिए।
हावाहुरीका कारण विद्यालयमा पुगेको क्षतिको विवरण संकलन भइरहेको उनले बताए।
पानी परिरहेकाले ह्वाइट बोर्ड, फर्निचर लगायत भिज्न थालेपछि अरु कोठामा स्थान्तरण गरिएको पनि उनले जानकारी दिए।