नेपालको त्रिवेणी र भारतको भैंसालोटन जोड्ने गण्डक ब्यारेजमा पानीको बहावले खतराको तह नाघेको छ।
आइतबार बिहान ९ बजेको विवरणअनुसार गण्डक ब्यारेजबाट प्रतिसेकेन्ड ४ लाख ८ हजार क्युसेक पानी प्रवाह भइरहेको छ।
ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह बढिरहेकोले तल्लो तटीय क्षेत्रमा पनि पानीको बहाव खतराको तहभन्दा माथि पुगेको हो।
गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ४ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ। हाल ब्यारेजमा प्रवाह भइरहेको पानीको मात्रा उक्त सीमाभन्दा माथि पुगेको हो।
गण्डकको माथिल्लो तट देवघाटमा बिहान ९ बजे पानीको बहाव प्रतिसेकेन्ड ६ लाख २४ हजार क्युसेक मापन गरिएको छ। गण्डक र देवघाट दुवैको बहाव बढ्दो क्रममा रहेको छ।
बिहान ८ बजे देवघाटमा प्रतिसेकेन्ड ५ लाख ९१ हजार २ सय र गण्डकमा ४ लाख ४ हजार क्युसेक पानीको बहाव मापन गरिएको थियो।
जबकि गण्डक ब्यारेजमा शुक्रबार बिहान १० बजे पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५ हजार ९ सय क्युसेक मापन गरिएको थियो।
गण्डक ब्यारेजमा बहाव बढ्दै गएपछि शनिबारदेखि नै सबै ३६ वटै ढोका खोलिएका छन्। पानीको बहाव बढ्दै गएपछि तल्लो तटीय क्षेत्र सुस्ता पूर्ण रूपमा डुबानमा परेको छ।
स्थानीय मुन्सिकुमार हरिजनका अनुसार तीन दिनदेखि डुबानमा परेका घरहरू भत्किन थालेका छन्। सुस्तामा अधिकांश घरहरू फुस र माटोले बनेका कारण एक–दुई दिन डुबानमा परेपछि भत्किने जोखिम हुन्छ।