बर्दियामा एक गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। थप १५ जना घाइते भएका छन्।
बाँकेमा पनि गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा थप एक जनाको मृत्यु भएको छ।
बर्दियामा गाडीको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–५, चिल्लरियाका मोटरसाइकल चालक ३४ वर्षीय हुकुमबहादुर खत्री र पछाडि सवार उनका बुबा दलबहादुर खत्रीको मृत्यु भएको हो।
घाइतेमध्ये बुबालाई ४ बजेर ९ मिनेटमा र छोरालाई ४ बजेर १४ मिनेटमा जिल्ला अस्पताल गुलरियामा मृत घोषणा गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए।
दिउँसो पौने ४ बजेतिर बर्दियाको गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडकखण्डमा गुलरियाबाट बाँकेको नेपालगन्जतर्फ आउँदै गरेको बा ५ ख ५६०५ नम्बरको गाडी र विपरीत दिशातर्फ जाँदै गरेको चो १ सिएम ९४३७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
मोटरसाइकललाई ठक्कर दिएपछि मिनी गाडी सडकमा पल्टिएको थियो।
उक्त दुर्घटनामा परी गाडीका चालक बर्दियाको गुलरिया नगरपालिका–८ का ४० वर्षीय हरि चौधरी, मधुवन नगरपालिका–६, सानोश्रीका ४४ वर्षीया रेखा कार्की, मधुवन–९, धर्मबस्तीकी २६ वर्षीया ललिता चौधरी, सोही वडाको ९ बाह्रनम्बरकी २८ वर्षीया सृजना मगर, मधुवन–७, सुक्रबस्तीकी ३३ वर्षीया ऋतु चौधरी, मधुवन–५ का १८ वर्षीय सुरजबहादुर राजी, सोही वडाका १७ वर्षीय संगम वली, बारबर्दिया नगरपालिका–२, जोगीगाउँका ७७ वर्षीय प्रसाद थारू, गुलरिया–१०, कालाबञ्जराकी १९ वर्षीया अर्धना पाठक, सोही ठाउँकी १५ वर्षीया अनन्य पाठक, बारबर्दिया–१, खैरापुरका १८ वर्षीय यमलाल थारू, बाँकेको कोहलपुर नगरपालिका–३, किरणनालाकी ३४ वर्षीया ईश्वरी न्यौपाने, कोहलपुर–११ की २३ वर्षीया अञ्जली घिमिरे, दाङको तुलसीपुर उपमहानगरपालिका–१२, टरीगाउँकी २७ वर्षीया लक्ष्मी विक र तुलसीपुर–४ का अन्मोल विक घाइते भएका छन्।
घाइतेमध्ये केहीलाई उपचारका लागि बाँकेको नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, दिउँसो बाँकेको नेपालगन्ज–कोहलपुर सडकखण्डमा नेपालगन्जदेखि कोहलपुरतर्फ आउँदै गरेको म.प्र.०२–००१ ख ३३५ नम्बरको इडी गाडीले कोहलपुर नगरपालिका–८, पिपरीमा एक पैदलयात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।
उक्त गाडीको ठक्करबाट कोहलपुर–२, सिद्धनगरकी ५८ वर्षीया दमन्ती सापकोटाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइते सापकोटालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर लगिएको थियो। त्यहाँ जाँचपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
चालक दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ४३ वर्षीय बटकनवा चौधरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।