दाङमा सामान्य विवादका क्रममा एक व्यक्तिले अर्काको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा एक जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा राजपुर गाउँपालिका–२ मटेरियाका ४९ वर्षीय रुपलाल चौधरी छन्।
उनलाई सोही ठाउँका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले आगो लगाएको प्रहरीले जनाएको छ।
घटना शनिबार दिउँसो राजपुर गाउँपालिका–२ बेलाको खाल गैरा खेल मैदानमा भएको हो।
प्रहरीका अनुसार दुवै जनाले सँगै बसेर मदिरा सेवन गरेका थिए। सोही क्रममा सामान्य विवाद भएपछि कार्कीले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएका थिए।
आगो लगाएर फरार भएका कार्कीलाई प्रहरीले लमही नगरपालिका–५ रातोडाँडाबाट पक्राउ गरेको छ।
आगोले चौधरीको शरीरको करिब ८५ प्रतिशत भाग जलेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताए।
लमही अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको छ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।