आइतबार बिहानसम्म झमझम पानी परिरहेको काठमाडौंको आकाश अपराह्नसम्म खुलेको छ। बादल हटेर घाम लागेपछि काठमाडौंको आकाश निख्खर नीलो देखिएको छ।
बुधबारदेखि सुरू भएको वर्षा शनिबारसम्म आइपुग्दा कम हुने अनुमान थियो। मौसम पूर्वानुमान महाशाखाले पनि शनिबार रातिदेखि मौसममा सुधार आउने संकेत गरेको थियो।
तर शनिबार रातभर पानी पर्यो। आइतबार बिहान पनि काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षा भयो।
त्यसपछि मात्रै वर्षाको क्रम बिस्तारै कम हुन थालेको हो।
अब प्रश्न उठ्छ– के वर्षा थामिएको हो?
यसको जबाफअघि पछिल्लो पाँच दिन केले पानी पार्यो भन्ने बुझ्न जरूरी हुन्छ। पछिल्ला पाँच दिनमा नेपालमा भएको वर्षाको कारण एउटै मौसमी प्रणाली मात्र थिएन।
अन्दमान सागरमा बनेको न्यूनचापीय प्रणाली बंगालको खाडीमा आइपुग्दा गहिरो न्यूनचापीय क्षेत्रमा परिणत भएको थियो।
त्यसपछि भारततर्फ सर्दै जमिनी सतहमा न्यूनचापीय क्षेत्रका रूपमा प्रवेश गरेपछि त्यसको प्रभावले नेपालमा पूर्वदेखि पश्चिमसम्म पानी परेको हो।
त्यही प्रणालीका कारण बुधबारदेखि नेपालमा वर्षा बढेको थियो। तर प्रणाली कमजोर हुँदै गएपछि शनिबारदेखि वर्षा कम हुने अपेक्षा थियो।
तर शनिबार रातिदेखि फेरि पानी पर्यो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार न्यूनचापीय क्षेत्र कमजोर भइसके पनि शनिबार रातिसम्म उक्त प्रणाली भारतमा नेपाल नजिक आएका कारण पानी पर्ने क्रम बढेको थियो।
त्यसले आइतबार बिहानैसम्म पानी पारेको थियो।
त्यसमाथि बंगालको खाडी र अरब सागरबाट जलवाष्प बोकेको हावा नेपाल प्रवेश गरेको थियो।
यो हावा चितवन, बारा, पर्साको पश्चिम भाग, रूपन्देही, कपिलवस्तुको पूर्वी भाग तथा गण्डकीका नवलपरासी पूर्व–पश्चिम, तनहुँ र कास्कीको तल्लो क्षेत्रमा जलवाष्पयुक्त हावा केन्द्रित हुन जाँदा बिहानसम्म ती ठाउँहरूमा बढी पानी पर्यो।
अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव मध्याह्नपछि कमजोर भएको थियो।
त्यस कारण पानी थामिएर घाम लागेको हो।
पछिल्लो तीन घन्टामा कोशीदेखि लुम्बिनीसम्म छिटपुट मात्रै वर्षा भएको छ। गण्डकीसम्मका कुनै पनि भूभागमा तीन घन्टामा १ मिलिमिटर सम्म पनि वर्षा भएको देखिँदैन।

कर्णाली र सुदूरपश्चिमको तराईका भूभागमा भने मध्यमसम्मको वर्षा भइरहेको छ।
पछिल्लो तीन घन्टामा बर्दियाको अरूणखोलामा ४१ मिलिमिटर, बर्गदहमा ३७ मिलिमिटर, रम्भापुरमा २६.४ मिलिमिटर वर्षा मापन भएको छ।
अर्थात् देशभरबाट वर्षा एकैपटक हटिसकेको छैन।
नेपाल नजिक रहेको न्यूनचापीय क्षेत्रको असर कमजोर भए पनि लुम्बिनी र कर्णाली प्रदेशमा यसको केही असर कायम छ। अरब सागरबाट आएको पानी पर्ने हावाको प्रभाव पनि केही मात्रामा छ। यसले पश्चिमी भूभागमा पानी परिरहेको हो।
अब भारी वर्षा भए सुदूरपश्चिम प्रदेशमै हुने मौसमविद बिनु महर्जनले बताइन्।
त्यसो भए देशभरि मौसम कहिले देखि सुधार हुन्छ?
मौसमविद महर्जनका अनुसार अब वर्षाको गतिविधि बिस्तारै घट्दै जानेछ।
तर मनसुन अझै सक्रिय रहेकाले तत्कालै देशभर पूर्ण रूपमा मौसम खुल्ने अवस्था भने नहुन सक्छ।
उनका अनुसार अहिलेको प्रणाली कमजोर हुँदै गएपछि लगातारको झरी पर्ने अवस्था हट्दै जानेछ। त्यसपछि वर्षा हुने क्रम पनि छिटपुट र स्थानीय प्रकृतिको हुँदै जानेछ। भारी वर्षाको सम्भावना भने नरहेको उनले बताइन्।
'विशेषगरी पश्चिमी भूभागमा अझै केही समय बादल र वर्षाको सम्भावना रहनेछ। तर पछिल्ला दिनजस्तो देशका धेरै भूभागमा एकैसाथ लगातार पानी पर्ने अवस्था भने कमजोर हुँदै जानेछ,' उनले भनिन्।
सोमबारदेखि पश्चिमी भूभागमा पनि वर्षा कम भई मौसम सुधार हुने उनले बताइन्।
मनसुन अझै बाँकी रहेकाले पानी नै पर्दैन भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनी बताउँछिन्। 'तर अबको वर्षा पछिल्ला पाँच दिनको जस्तो निरन्तर र व्यापक हुँदैन,' उनले भनिन्।