अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ ।
आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढीले मर्स्याङ्दी नदी थुनिएको छ।
विपद्का कारण पर्यटक मनाङमै बस्न बाध्य भएका छन् ।
मर्स्याङ्दी थुनिएपछि माथिल्लो मनाङ पुगेका पर्यटक उतै छन् भने तल्लो मनाङमा रहेका पर्यटक रोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) एकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।
उनका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पास गर्ने पर्यटक पनि मनाङ नै फर्किएका छन्।
'माथिल्लो मनाङ आइपुगेका २२६ विदेशी पर्यटकको दर्ता भएको छ भने ४४ जना फर्किएका छन्,' प्रमुख भुजेलले भने, 'करिब १५० बढी पर्यटक थोराङ्ला पास गर्ने पर्यटक हिउँ बाक्लो भएपछि फर्किएर मनाङ आइपुगेका छन् । मनाङ गाउँमा पर्यटक सुरक्षित छन्।'
थोराङ्ला पास गर्ने पर्यटक मुस्ताङबाट हेलिप्टरमा फर्कन सक्ने भएकाले जान अनुमति दिएको छ।
'बिरामी र प्रवेशाज्ञा सकिएका पर्यटक भने हेलिकप्टरमार्फत फर्किएका छन्,' प्रमुख भुजेलले भने, 'हिमपात भएको समयमा मनाङ गाउँमा पर्यटक खचाखच थिए। सञ्चार र विद्युत् नहुँदा सङ्ख्या यकिन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।
एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङले धारापानी चेकपोष्टमा सेप्टेम्बर २२ देखि २८ तारिखसम्म ५९० विदेशी पर्यटकको दर्ता भएको जानकारी दिए।
उनका अनुसार अविरल वर्षा र बाढीपहिरोका कारण १४६ पर्यटक फर्किएका छन्।
'माथिल्लो मनाङ पुगेका पर्यटक माथि नै छन् भने चामेदेखि तल रहेका भने यहीँ छन्,' गुरुङले भने, 'बाटोको ट्र्याक नै मर्स्याङ्दी नदीले कटान गरेपछि फर्कने अवस्था छैन। पर्यटक यही रहेका छन्।'
अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीको कटानले अधिकांश स्थानमा सडकको ट्र्याक बगाएको छ।
भासिएका सडकको नयाँ ट्र्याक नबनाउँदासम्म पर्यटक तथा स्थानीयवासी आवतजावत गर्न सक्ने अवस्था छैन।
नदी कटानले सडक भासिँदा उपकरण पुर्याउन सकिएको छैन।