क्यानडाकी कवि तथा निबन्धकार एनी कार्सनले सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार पाएकी छन्।
स्विडिस एकेडेमीले बिहीबार कार्सनलाई ‘शास्त्रीय परम्परासँग सिर्जनात्मक संवाद गर्दै समकालीन साहित्यका लागि नयाँ स्वरूप निर्माण गर्ने उनको साहसी र नवीन साहित्यिक कृतिका लागि’ नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
स्टकहोममा पुरस्कार घोषणा गर्दै स्विडिस एकेडेमीले कार्सनका कृतिमा प्राचीन साहित्यिक परम्परा र आधुनिक साहित्य बीचको अनौठो संयोजन देखिने उल्लेख गरेको छ।
एकेडेमीकी स्थायी सचिव इन्ग्रिड कार्लबर्गका अनुसार पुरस्कारको खबर सुनाउँदा कार्सन आइसल्यान्डमा थिइन्। उनी त्यहाँ ‘हावाको आवाज सुनिरहेकी’ थिइन्।
टोरोन्टोमा जन्मिएकी कार्सनले आफ्ना साहित्यिक कृतिमा प्राचीन ग्रिक र रोमन साहित्यका विषय तथा कथालाई निरन्तर प्रयोग गर्दै आएकी भनेर एसोसिएटेड प्रेसले जनाएको छ। उनका कृतिमा कविता, निबन्ध र आख्यानका तत्वहरू एकसाथ भेटिन्छन्।
कार्सनको चर्चित कृतिमध्ये ‘इरोस द बिटरसुइट’ पनि एक हो। यसमा प्राचीन ग्रिक साहित्यमा प्रेम तथा चाहनासँग जोडिएको सुख र पीडाको विश्लेषण गरिएको छ।
उनको अर्को चर्चित कृति ‘अटोबायोग्राफी अफ रेड’ हो। यो पद्यमा लेखिएको उपन्यास हो, जसमा प्राचीन ग्रिक मिथकलाई आधुनिक साहित्यिक शैलीमा पुनः प्रस्तुत गरिएको छ।
त्यस्तै ‘मेन इन द अफ आवर्स’ कविता र गद्यको संग्रह हो। यस कृतिका लागि उनले सन् २००१ मा क्यानडाको ग्रिफिन पुरस्कार पाएकी थिइन्।
कार्सनको ‘नर्मा जीन बेकर अफ ट्रोय’ मा अमेरिकी अभिनेत्री तथा मोडल मार्लिन मुनरो र प्राचीन ग्रिक मिथककी पात्र हेलेन अफ ट्रोयबीच तुलना गरिएको छ।
गत वर्ष हंगेरीका लेखक लास्लो क्रास्नाहोरकाईले साहित्यतर्फको नोबेल पुरस्कार पाएका थिए। उनका अतियथार्थवादी र अराजक शैलीका उपन्यासमा निराशाजनक विश्वदृष्टि तथा व्यंग्यात्मक हास्य पाइन्छ। नोबेल समितिले उनको साहित्यले ‘प्रलयकारी आतंक’बीच पनि कलाको शक्तिलाई कायम राखेको बताएको थियो।
यस वर्ष साहित्यबाहेक नोबेलका तीन विज्ञानतर्फका पुरस्कार घोषणा भइसकेका छन्।
चिकित्सातर्फको नोबेल पुरस्कार मस्तिष्कले कसरी काम गर्छ भन्ने बुझ्न प्रकाशको प्रयोग गर्ने प्रविधि विकासमा योगदान पुर्याएका तीन वैज्ञानिकलाई प्रदान गरिएको छ।
भौतिक शास्त्रतर्फको पुरस्कार न्युट्रिनोको दुर्लभ समूहबारेको रहस्य बुझ्न योगदान दिएका वैज्ञानिकलाई प्रदान गरिएको छ।
त्यस्तै रसायन शास्त्रतर्फको नोबेल पुरस्कार अणुमा देखिने रहस्यमय ऐना-जस्ता संरचनाबारेको अध्ययनमा योगदान दिएका दुई वैज्ञानिकलाई दिइएको छ। उनीहरूको खोजबाट विभिन्न औषधि विकासमा समेत उपयोग भएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)