दसैं मनाएर काठमाडौं फर्कने क्रम जारी छ।
खेतमा धान पाकेर पहेँलपुर भएको छ। कतिपय किसानले धान काटेर सुकाइरहेका छन् भने कतिपयलाई भित्र्याउने चटारो छ।
उता, कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) सुरू हुँदैछ।
यही बेला बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको प्रभावले नेपालमा वर्षा हुने सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा शुक्रबार केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीमा विकसित चक्रवातको प्रभाव बुधबार रातिदेखि नेपालमा पर्ने देखिएको बताएका छन्।
यो प्रणाली बंगालको खाडीमा क्रमशः शक्तिशाली बन्दै अघि बढिरहेको उनले बताएका छन्। भारतको आन्ध्र प्रदेशनजिक आइपुग्दा यसको प्रभाव नेपालमा पनि देखिन थाल्ने उनको भनाइ छ।
'अहिले नै यसको प्रभाव नेपालमा परेको छैन। बुधबार रातिदेखि हिमाली भेगका केही स्थानमा वर्षा हुन सक्छ। बिहीबारदेखि भने अन्य भूभागमा पनि वर्षाको सम्भावना छ,' लामिछानेले भने।
महाशाखाले सोमबार बिहान जारी गरेको पाँचदिने मौसम पूर्वानुमान बुलेटिनले पनि बुधबारदेखि मौसम बदली हुने र बिहीबार तथा शुक्रबार वर्षाको सम्भावना बढ्ने देखाएको छ।
बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरे स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
बुधबार राति देशभर साधारणतया बादल लाग्नेछ ।
राति देशका हिमाली भू-भागका थोरै स्थानमा मध्यम सम्मको वर्षा/ हिमपातको सम्भावना छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहीबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्नेछ।
त्यस दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना पनि छ। लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
शुक्रबार वर्षा थप फैलिने अनुमान महाशाखाले गरेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा वा हिमपात हुन सक्छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
लामिछानेका अनुसार वर्षाको प्रभाव पूर्वी नेपालमा बढी देखिने सम्भावना छ। पश्चिमतिर भने तुलनात्मक रूपमा कम वर्षा हुन सक्छ। विशेषगरी पश्चिमी लुम्बिनी, तराईका पश्चिमी भाग र सुदूरपश्चिममा अन्य क्षेत्रको तुलनामा वर्षा कम हुने अनुमान छ।
काठमाडौंमा बुधबार बादल लाग्ने र बिहीबार केही समय वर्षा हुन सक्ने उनले बताए।
शुक्रबारसम्म मौसम बदली भइरहन सक्ने भए पनि शनिबार रातिदेखि मौसम खुल्दै जाने सम्भावना छ। शनिबारदेखि चक्रवातको प्रभाव कमजोर हुँदै जाने उनको भनाइ छ।
यसको अर्थ, बिहीबार र शुक्रबारको मौसमले किसानको धान सुकाउने र भित्र्याउने काममा असर पार्न सक्छ। वर्षा र चट्याङको सम्भावना रहेकाले खेतमा काटेर राखिएको धान सुरक्षित राख्न किसानले मौसमको पछिल्लो अवस्था हेरेर कामको योजना बनाउनुपर्ने देखिन्छ।
काठमाडौंमा सुरू हुन लागेको एनपिएलका खेलमा पनि मौसमले असर पार्छ कि पार्दैन भन्ने चासो रहनेछ। तर खेल प्रभावित हुने वा नहुनेबारे अहिले नै निश्चित भन्न सकिने अवस्था छैन।
महाशाखाले बिहीबारदेखि शनिबारसम्मको मौसमलाई ध्यानमा राखेर सतर्क रहन आग्रह गरेको छ। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने तथा त्यसले कृषि, सडक र हवाई यातायातसहित दैनिक जनजीवनमा असर पार्न सक्ने महाशाखाले जनाएको छ।
सोमबार भने देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
मंगलबार रातिदेखि भने देशभर आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।