सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
ब्रेक फेल भएपछि मोटरबोट दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना सवार मोटरबोट सुनसरीको चतरातर्फ आउने क्रममा आइतबार दिउँसो धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा दुर्घटनामा परेको हो।
दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लीला राई, करिब ६–७ वर्षीया बालिका र ४०–५० वर्ष उमेरका एक पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको चतरास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतक बालिका र पुरूषको पहिचान खुल्न सकेको छैन।
दुर्घटनापछि बराहक्षेत्रस्थित प्रहरी चौकीबाट खटिएको टोलीले चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पुर्याएको थियो।
घाइतेमध्ये भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनारको उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अन्य यात्रु पौडी खेलेर तथा उद्धारपछि सकुशल घर फर्किएका छन्।
दुर्घटनामा झापाको कन्काई नगरपालिका–४ का सात वर्षीय शिवक मगर, बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता छन्।
उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमान्डमा १४ जना प्रहरी परिचालन गरिएको छ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयाँलको कमान्डमा १६ जनाको टोली खटिएको छ।
प्रहरीले मोटरबोटको ब्रेक फेल भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ।
दुर्घटनामा परेको मोटरबोटका चालक सुमन मगरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।