दाङमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी एक बालक सहित दुई जनाको मृत्यु भएको छ।
लमही–कोइलाबास सडक खण्ड अन्तर्गत बिहीबार बिहान साढे ४ बजेतिर रा ५ प ८९२४ नम्बरको मोटरसाइकल राप्ती नदीको पुलमा ठोक्किँदा गढवा गाउँपालिका–६ रामपुरका १९ वर्षीय रोहित सुनारको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार दुर्घटनाका गम्भीर घाइते सुनारलाई लमहीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि घोराहीस्थित सञ्जीवनी टिचिङ अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई बिहान ६ बजेतिर मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढवा–६ निवासी १८ वर्षीय राहुल थापा र १८ वर्षीय नवीन गुरूङ घाइते छन्।
उनीहरूको अवस्था सामान्य रहेको तथा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।
मृतक सुनारको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका –४ बनहरीका ५ वर्षीय क्यान्सु घर्ती मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार बेलुकी साढे ६ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका – ६ का २२ वर्षीय रामप्रसाद बुढाले चलाएको रा ४ प ८७९९ नम्बरको मोटरसाइकलले पैदल यात्री बालकलाई बनहरीमा ठक्कर दिएको थियो।
तत्काल उनलाई उद्धार गरी तुलसीपुरस्थित राप्ती लाइफ कियर हस्पिटलमा पुर्याउँदा ७ बजेपछि चिकित्सकले चेकजाँच पछि मृत घोषणा गरेका थिए।