युरोपका २५ भन्दा बढी देशमा शुक्रबार हजारौँ युवा सडकमा उत्रिएका छन्।
बढ्दो महँगी, बेरोजगारी, शिक्षा क्षेत्रमा बजेट कटौती, जलवायु परिवर्तन र युद्धका लागि बढ्दो सैन्य खर्चको विरोध गर्दै विद्यार्थी तथा युवा संगठनले एकै दिन प्रदर्शन गरेका हुन्।
उनीहरूले सरकारहरूले आफ्नो पुस्ताको भविष्य सुरक्षित गर्नुभन्दा युद्ध र हतियारमा बढी ध्यान दिएको भन्दै प्राथमिकता बदल्न माग गरेका छन्।
बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन, अस्ट्रिया, पोर्चुगल, बेल्जियम, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, डेनमार्क, नर्वे, स्विडेन, पोल्यान्ड, स्लोभेनिया, चेक गणतन्त्र, रोमानिया, टर्की, आयरल्यान्ड, क्रोएसिया, हंगेरी, माल्टा, स्लोभाकिया, फिनल्यान्ड र लक्जेम्बर्गमा युवा तथा विद्यार्थी संगठनले प्रदर्शन वा त्यससँग सम्बन्धित आन्दोलनका कार्यक्रम आयोजना गरेका थिए।
आयोजकहरूको गठबन्धनमा ५० भन्दा बढी युवा तथा विद्यार्थी संगठन सहभागी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उनीहरूले नोभेम्बर २० लाई ‘अन्तर्राष्ट्रिय युवा तथा विद्यार्थी हडताल’ घोषणा गर्दै ‘हाम्रो भविष्यका लागि लडौँ, उनीहरूको युद्धका लागि होइन’ भन्ने नारासहित प्रदर्शनको आह्वान गरेका थिए।
आयोजकका अनुसार आन्दोलनमा करिब ४०० सहरका युवा सहभागी भएका छन्।
रोयटर्सका अनुसार फ्रान्समा केही समयदेखि भइरहेका प्रदर्शनबाट प्रेरित भएर युरोपका विभिन्न देशमा यो आन्दोलन आयोजना गरिएको हो।
यद्यपि शुक्रबारका प्रदर्शन फ्रान्समा यसअघि भएका प्रदर्शनको तुलनामा शान्त र कम सहभागिताका थिए। अधिकांश ठाउँमा केही सयदेखि हजारौँ मानिस सडकमा उत्रिएका थिए।
जर्मनीमा ‘जेनजी रेगेल्ट’ अर्थात् ‘जेनजी आफैँ अघि सर्छ’ नामक अभियानले ७३ सहर र नगरमा प्रदर्शन आयोजना गरेको थियो।
राजधानी बर्लिनको एलेक्जेन्डरप्लाट्जमा करिब चार हजार मानिस सहभागी भएको रोयटर्सले जनाएको छ।
कोलोन सहरमा पनि हजारौँ विद्यार्थी सडकमा उत्रिएका थिए। त्यहाँ पाँच हजार मानिस सहभागी हुने अनुमान गरिए पनि त्योभन्दा कम उपस्थिति रहेको प्रहरीले जनाएको थियो।
कोलोनमा भएको प्रदर्शनमा सहभागी विश्वविद्यालयकी विद्यार्थी जस्मिन हमादीले शिक्षा क्षेत्रमा भइरहेको बजेट कटौतीप्रति असन्तुष्टि जनाइन्।
‘विश्वविद्यालयमा मात्रै होइन, समग्र शिक्षा प्रणाली र विद्यालयमा पनि बजेट कटौती भइरहेको छ। यसबाट म खुसी छैन। त्यसैले विरोध जनाउन र परिवर्तनका लागि दबाब दिन यहाँ आएकी हुँ। अब यसरी चल्न सक्दैन’, उनले भनिन्।
इटालीमा भने अन्य देशको तुलनामा प्रदर्शन व्यापक थियो। प्रधानमन्त्री जर्जिया मेलोनीको आर्थिक नीतिको विरोध गर्दै प्रदर्शनकारीले तलब बढाउन, सार्वजनिक सेवामा लगानी गर्न र सैन्य खर्च घटाउन माग गरेका थिए। इटालीको सबैभन्दा ठूलो ट्रेड युनियन सिजिआइएलले देशका सयभन्दा बढी स्थानमा प्रदर्शन भएको जनाएको छ।
त्यहाँ सार्वजनिक र निजी क्षेत्रका कर्मचारीसमेत हडतालमा सहभागी भएका थिए। यसका कारण विद्यालय, स्वास्थ्य सेवा र सार्वजनिक यातायात प्रभावित भएका थिए।
सिजिआइएलका प्रमुख माउरिजियो लान्दिनीले इटालीमा मात्रै १० लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएको दाबी गरेका छन्। यद्यपि यो संख्या स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
‘आजको दिन महत्त्वपूर्ण छ, किनकि युवा इटालीमा मात्रै होइन, युरोपभरि सडकमा उत्रिएका छन्। सर्वसाधारणमाझ परिवर्तनको माग बढिरहेको छ’, लान्दिनीले भने।
युद्धमा होइन, शिक्षा र भविष्यमा लगानीको माग
शुक्रबारका प्रदर्शनमा सहभागी युवाहरूको साझा माग शिक्षा, स्वास्थ्य र अन्य सार्वजनिक सेवामा सरकारी लगानी बढाउनुपर्ने थियो। उनीहरूले विद्यालय र विश्वविद्यालयमा बजेट कटौती भइरहँदा युरोपेली देशहरूले हतियार र सैन्य क्षेत्रमा खर्च बढाएको भन्दै आलोचना गरेका छन्।
जर्मनी, इटाली र बेलायतमा प्रदर्शनकारीले सैन्य खर्च वृद्धि र अनिवार्य सैनिक सेवाको सम्भावनाप्रति विरोध जनाएका थिए।
उनीहरूले युक्रेन र गाजालगायतका युद्धका कारण युरोपमा सैन्य खर्च बढिरहेको तर त्यसको भार नयाँ पुस्ताले भविष्यमा बेहोर्नुपर्ने अवस्था आएको बताएका थिए।
इटालीको राजधानी रोममा प्रदर्शनकारीले ‘युद्धका लागि होइन, विद्यालयका लागि पैसा खर्च गर’ र ‘महँगीबिनाको जीवन चाहिन्छ’ भन्ने नारा लगाएका थिए।
धेरै प्रदर्शनकारीले प्यालेस्टाइनको झन्डा बोकेका थिए। उनीहरूले गाजामा इजरायलले गरिरहेको युद्धमा युरोपेली सरकारहरूको भूमिकामाथि पनि प्रश्न उठाएका थिए।
बेलायतको सोसलिस्ट स्टुडेन्ट्सका राष्ट्रिय अध्यक्ष एडम पावेल डेभिसले युवाहरू शिक्षा क्षेत्रमा भइरहेको बजेट कटौती चुपचाप हेरेर नबस्ने बताएका छन्।
‘हाम्रा विद्यालय, कलेज र विश्वविद्यालयको बजेट कटौती गरिँदा युद्धका लागि अर्बौं रकम छुट्याइएको छ। उनीहरूको युद्धका लागि होइन, आफ्नो भविष्यका लागि आवाज उठाऔँ’, उनले भने।
बेलायतको राजधानी लन्डनमा सयौँ विद्यार्थी संसद् भवननजिकैको पार्लियामेन्ट स्क्वायरमा भेला भएका थिए।
त्यहाँ एक प्रदर्शनकारीले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘म कक्षा छाडेर आन्दोलन गर्न आएको होइन, बाँच्नका लागि काम गरिरहेको थिएँ।’
इटालीको रोम, जेनोवा, बोलोन्या र मिलानमा पनि प्रदर्शनकारीले सैन्य खर्च बढाउने नीतिको विरोध गर्दै सार्वजनिक सेवामा लगानी बढाउन माग गरेका थिए।
क्रोएसियामा विद्यार्थीले कक्षा बहिष्कार गरेर शिक्षा, आवास र सार्वजनिक सेवामा लगानी बढाउन माग गरेका थिए।
अस्ट्रियाको भियनास्थित विश्वविद्यालयअगाडि पनि सयौँ युवा प्रदर्शनमा सहभागी भएका थिए।
त्यहाँ प्रदर्शनका क्रममा केही अव्यवस्था भएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको र केहीलाई पक्राउ गरेको समाचारमा उल्लेख छ।
जलवायु संकट र महँगीको चिन्ता
युवाहरूको आन्दोलन शिक्षा र सैन्य खर्चमा मात्र सीमित छैन। उच्च बेरोजगारी, जीवनयापनको बढ्दो खर्च, जलवायु परिवर्तन र कृत्रिम बौद्धिकता (एआई) का कारण भविष्यमा रोजगारीका अवसर गुम्ने चिन्तासमेत प्रदर्शनका प्रमुख मुद्दा बनेका छन्।
फ्रान्सको पेरिसमा भएको प्रदर्शनमा सहभागी २५ वर्षीया अमेरिकी विद्यार्थी एभलिनले नयाँ पुस्ता आफ्नो भविष्यप्रति चिन्तित रहेको बताइन्।
‘हामीमध्ये धेरै जेनजी आफ्नो भविष्यबारे सोचिरहेका छौँ। जीवनयापनको खर्च बढिरहेको छ, जलवायु संकट नजिकिँदै छ र जलवायु परिवर्तनका कारण अर्बौं मानिसको ज्यान जान सक्ने अवस्था आउन सक्छ’, उनले भनिन्, ‘अहिले निर्णय गरिरहेका मानिसहरूकै भरमा सबै कुरा छाड्ने हो भने हाम्रो भविष्य मृत्युको भविष्य हुनेछ।
युरोपेली तथ्यांक संस्था युरोस्ट्याटका अनुसार सन् २००० यता फ्रान्स, इटाली, स्पेन र पोर्चुगलमा खाद्यान्न, ऊर्जा, यातायात र अन्य दैनिक उपभोग्य वस्तुको मूल्य ५९ देखि ७८ प्रतिशतसम्म बढेको छ। यसले पनि नयाँ पुस्ताको जीवनयापन कठिन बनाएको छ।
इटालीमा सन् २००० देखि २०२५ सम्म मुद्रास्फीति समायोजन गरेपछि औसत पूर्णकालीन तलब झन्डै पाँच प्रतिशत घटेको आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) को तथ्यांकमा उल्लेख छ। सोही अवधिमा स्पेनमा वास्तविक तलब सात प्रतिशत, फ्रान्समा ११ प्रतिशत र पोर्चुगलमा २० प्रतिशत बढेको छ।
कोभिड महामारी, जलवायु संकट र युक्रेन, गाजा, सुडान तथा इरानका युद्धबीच हुर्किएको नयाँ पुस्ताले राजनीतिक नेतृत्वले आफ्नो भविष्य सुरक्षित गर्न नसकेको गुनासो गर्दै आएको छ।
उनीहरू सरकारहरूले सैन्य क्षेत्रमा खर्च बढाउनुको सट्टा शिक्षा, स्वास्थ्य, रोजगारी र जलवायु संकट समाधानमा लगानी गर्नुपर्ने बताउँछन्।
आन्दोलनकारी संगठनहरूको साझा घोषणापत्रमा सैन्य खर्च र हतियार निर्माण बढाउने नीति अन्त्य गर्नुपर्ने, अनिवार्य सैनिक सेवा हटाउनुपर्ने, शिक्षा र सामाजिक सुरक्षामा लगानी बढाउनुपर्ने तथा जलवायु र सामाजिक न्याय सुनिश्चित गर्नुपर्ने माग राखिएको छ। प्यालेस्टिनी जनताको संघर्षप्रति ऐक्यबद्धता जनाउनु पनि उनीहरूको साझा मागमध्ये एक हो।
युरोपमा बढ्दै युवा असन्तुष्टि
युरोपका विभिन्न देशमा शुक्रबार भएको प्रदर्शनलाई पछिल्लो समय बढ्दै गएको जेनजी आन्दोलनकै अर्को रूपका रूपमा हेरिएको छ। पछिल्लो एक वर्षमा युरोपबाहेक दक्षिण एसिया, अफ्रिका र अमेरिकी महादेशका विभिन्न देशमा पनि युवा नेतृत्वका सरकारविरोधी प्रदर्शन भएका छन्।
देशअनुसार आन्दोलनका मुद्दा फरक भए पनि महँगी, बेरोजगारी, भ्रष्टाचार, सुशासन, शिक्षा र भविष्यप्रतिको अनिश्चितता साझा विषय बन्दै आएका छन्।
फ्रान्समा भएका ठूला प्रदर्शनमा प्रहरीसँग झडप र तोडफोडका घटना पनि भएका थिए। फ्रान्सको गृह मन्त्रालयका अनुसार नोभेम्बर १७ मा देशभर भएका प्रदर्शनमा एक लाख ४६ हजार मानिस सहभागी भएका थिए। तर ट्रेड युनियनले भने पाँच लाखभन्दा बढी सहभागी भएको दाबी गरेको थियो।
सर्बियामा विद्यार्थी नेतृत्वको आन्दोलनले गत महिना भएको निर्वाचनमा लामो समयदेखि सत्तामा रहेका नेता अलेक्जान्दर भुचिचको सत्ता अन्त्य गराउन भूमिका खेलेको थियो। अल्बानियामा पनि पछिल्लो समय सरकारविरोधी प्रदर्शन र असन्तुष्टि देखिएको छ।
शुक्रबारका प्रदर्शन भने अधिकांश ठाउँमा शान्तिपूर्ण रहे। लन्डन प्रहरीले प्रदर्शनअघि आयोजकहरूसँग समन्वय गरेको र शान्तिपूर्ण प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्ने जनाएको थियो। तर प्रदर्शनका क्रममा आपराधिक गतिविधि भए कारबाही गर्ने प्रहरीको भनाइ थियो।
युरोपका विभिन्न देशमा एकै दिन भएको यो प्रदर्शनले नयाँ पुस्ताको असन्तुष्टि कुनै एउटा देश वा सरकारमा मात्र सीमित नरहेको देखाएको छ। शिक्षा, रोजगारी, महँगी, जलवायु संकट र युद्धको प्राथमिकतासम्बन्धी प्रश्न उठाउँदै युवाहरूले आफ्नो भविष्यका निर्णयमा आफूहरूको आवाज पनि सुनिनुपर्ने माग गरिरहेका छन्।